समाज

जोखिम मोलेर दूधकोशी र सुनकोशी तर्नुपर्ने बाध्यता

खोटाङ – हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडा र वडा नं २, डिकुवाका स्थानीयबासिन्दा वर्षौंदेखि जोखिम मोलेर डुङ्गामार्फत कोशी वारपार गर्न बाध्य रहेका छन्। 

सदरमुकाम दिक्तेल, राजधानी काठमाडौँ, उदयपुरको कटारी, घुर्मीलगायत तराईका विभिन्न जिल्ला आवतजावत गर्दा उनीहरूले डुङ्गामार्फत सुनकोशी नदी दुई ठाउँमा तर्नुपर्ने बाध्यता झेल्दै आएका हुन्। 

आफ्नै नगरपालिकाको कार्यालय पुग्नसमेत त्यस क्षेत्रका बासिन्दालाई दुई ठाउँमा डुङ्गा चढ्नुपर्ने बाध्यता छ। जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने डिकुवा र बाहुनीडाँडाका अधिकांश भाग दूधकोशी र सुनकोशीले छोएको छ। 

साविकको बाहुनीडाँडा–७ झापा, बाहुनीडाँडा–८ को खर्क, डुम्रे, बाहुनीडाँडा–९ को कुर्ले, रूपटार, सिरूवानी, चुखानलगायतका बासिन्दा जोर्तीघाटमा डुङ्गाबाट दूधकोशी मिसिएको सुनकोशी पार गर्न बाध्य छन्। 

यस्तै साविकको डिकुवा–३, बलुई र बाइटारका बासिन्दा पनि वर्षौंदेखि तराई पुगेर नूनदेखि सुनसम्मका उपभोग्य सामग्री ल्याउने क्रममा ठाउँठाउँमा डुङ्गा प्रयोग गर्न बाध्य छन्। 

जोर्तीघाट सुनकोशी र दूधकोशीको सङ्गमस्थल पनि हो। पुल नभएका कारण बाहुनीडाँडाका बासिन्दा जोर्तीघाटबाट डुङ्गा चढेर सुनकोशी तरेर उदयपुरको कटारी नगरपालिका–१४ लेखानी पुग्छन्। 

केही समय लेखानी पुछारमा नदीको किनारै किनार हिँडेका स्थानीय पुनःडुङ्गाबाटै सुनकोशी तरेर ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६, थाक्ले हुँदै हर्कपुर वा जयराम निस्केर यात्रा गर्न बाध्य छन्। उनीहरूको किनमेल गर्ने प्रमुख बजार नै घुर्मी हो। 

दशकअघिसम्म कटारीबाट घरायसी सामान ल्याउँदै आएका स्थानीयले हाल घुर्मीबाट चामल, नूनतेल, फलाम, लत्ताकपडालगायत दैनिक उपभोग्य सामग्री ल्याउने गरेका छन्। घुर्मी पुग्ने डिकुवा बलुई र बाइटारका बासिन्दाले भने बाहिरिने क्रममा कुर्लेघाट पार गरेपछि जोर्तीघाट पार गर्नुपर्छ। 

डुङ्गा नचल्ने कतिपय ठाउँमा गाडीको पाङ्ग्राको ट्युब प्रयोग गरेर नदी तर्ने गरिएको स्थानीय बासिन्दा बताउँछन्। ठूल्ढुङ्गाबाट उदयपुर, साँघुरीबाट ओखलढुङ्गाको थाक्ले र मसानेबाट उदयपुरको सोता जान–आउन ट्युबको प्रयोग हुने गरेको छ। 

बाहुनीडाँडा र डिकुवाका नदी किनारका स्थानीयले मोटरसाइकलसमेत डुङ्गाबाटै नदी तारेर चलाउने गरेका छन्। नदी वारपार गर्ने क्रममा डुङ्गा चालकलाई प्रतिव्यक्ति रु ५० का दरले शुल्क तिर्नुपर्छ। 

भौगलिक विकटता र नदीमा पुल नभएका कारण बाहुनीडाँडा र डिकुवाका बासिन्दा वर्षौंदेखि जोखिम मोलेर डुङ्गा प्रयोग गर्न बाध्य छन्। हिउँदमा डुङ्गाबाट नदी तर्न सकिए पनि वर्षामा डुङ्गा नचल्ने हुँदा स्थानीय बासिन्दा सास्ती खेप्न बाध्य छन्। 

जसले गर्दा नदीले कुनै वर्ष चार जनासम्मलाई बेपत्ता बनाएको छ। झोलुङ्गे पुल निर्माणका लागि पञ्चायतकालदेखि नै पटकपटक आवाज उठाउँदै आएको भए पनि अहिलेसम्म नबनेको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले दुखेसो गर्नुभयो। सो क्षेत्रमा सडक विस्तार नभएसम्म समस्या यथावत् रहने स्थानीय बासिन्दा बताउँछन्। रासस

प्रकाशित: २८ मंसिर २०७५ ०६:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App