समाज

सुनसरीमा साउनयता ११ हत्या

इटहरी - आफूहरूले विदेशमा गरेको कामको खिल्ली उडाएको झोंकमा तीन युवकले गत भदौ २४ गते सुनसरी बराहक्षेत्र–६ का २२ वर्षीय सुरेन्द्र माझीको हत्या गरे । रक्सीले मातेका ती युवकले आफूहरू विदेशमा हुँदा गरेको कामको आलोचना भएपछि आवेशमा आएर माझीको हत्या गरेका थिए ।

घटनामा संलग्न तीन जनामध्ये मोरङको कानेपोखरी घर भएका २१ वर्षे शरण तामाङ र सुनसरीकै बराहक्षेत्र वडा नं. ६ का २३ वर्षे शक्ति तामाङ परे । अहिले उनीहरू पुर्पक्षका लागि कारागार चलान भएका छन् । अर्का अभियुक्त सुनसरीको इनरुवा–१० जितेन्द्र उराव भने फरार छन् । माझीलाई हत्या गरी उनको शव सप्तकोसी नदीमा फालिएको थियो ।

सुनसरीमा साउनयता मात्र ११ वटा हत्याका घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । एकपछि अर्काे हत्या हुन थालेपछि जिल्लाबासी त्रासमा परेका छन् ।

यस्तै भदौकै २५ गते साँझ देवानगन्ज वडा नं. ५ का ४२ वर्षीय सञ्जिव यादवलाई साथीहरूले घुम्न जाउँ भन्दै घरबाट लिएर गए । त्यसको भोलिपल्ट भारतीय क्षेत्रमा हत्या गरिएको अवस्थामा यादवको शव भेटियो ।

हत्या अभियोगमा प्रहरी कार्यालयमा किटानी जाहेरी परेका यादवकै गाउँका भूपेन्द्र यादव, कान्ति साह, भोलाबैठा मियाँ र सन्जय दास अहिलेसम्म फरार छन् । यादवसहित उनको हत्यामा संलग्न चारै जना भारतबाट अवैध रूपमा सामान ओसारपसार गर्ने गरेको खुलेको छ ।

सुनसरीमा शृंखलावद्ध रूपमा हत्याका घटना भइरहेका छन् । यसै क्रममा यही मंसिर ५ गते गोली हानी दुहबी–९, सोनापुर छाताबेलीका मोहम्मद फिदा हुसेनको हत्या भयो । घटना भएको १० दिन भइसक्दा पनि हत्या पत्ता लाग्न सकेको छैन । विशेषगरी भारतसँग सीमा जोडिएको तराईको सीमावर्ती क्षेत्रमा भारतीय आपराधिक समूहबाट नेपालीको हत्या हुने गरेको छ । तर फिदाको हत्या भने यहाँकै पेसेवर हत्यारा (कन्ट्रयाक्ट किलर) बाट भएको उनको परिवारले आशंका गरेका छन् । फिदाको हत्यालगत्तै सुनसरी जिल्ला प्रहरी कार्यालय, प्रहरी प्रधान कार्यालयबाट एसएसपी महसुद आलम खाँ र सिआइबीको छुट्टाछुट्टै टोली अनुसन्धानमा खटिएका छन् । तर अहिलेसम्म हत्याराको पहिचान हुन सकेको छैन ।

फिदाका दाजु मेहदी हुसेन भन्छन,‘राजनीतिमा अरूभन्दा मैले प्रगति गर्दै गएँ, त्यसमा भाइको पूर्ण साथ थियो । यो देखेर भाइविरुद्ध दुई वर्षअघि नै गाउँका केही व्यक्तिले मिटिङ गरेको सुइँको पाएको थिएँ ।’ मेहदी सुनसरी क्षेत्र नम्बर ३ का कांग्रेस सभापति तथा दुहबी वडा नम्बर ९ का अध्यक्ष मेहदी आफ्नो भाइको हत्या गर्न स्थानीय मुस्लिम समुदायले नै सुराकी गरेको आरोप लगाउँछन् । ‘मुस्लिम समुदायलाई कमजोर पार्न खेल सुरु भएको छ,’ उनले भने, ‘जसले गर्दा यहाँ असुरक्षा बढेको छ ।’

फिदाका सम्धी तयुब हुसेन नेकपाका केन्द्रीय सदस्य हुन् । फिदा हत्याको एउटा कारण राजनीति हुन सक्ने उनको आशंका छ । ‘सोनापुर क्षेत्रका मुस्लिम समुदाय नातेदारभित्रै जेलिएको छ,’ उनले भने, ‘यसमा सम्धीका दाजु मेहदी कांग्रेस र म नेकपाबाट राजनीति गर्छाैं । आपसमा सहयोग गर्दै अगाडि बढेका हामी दुवैको राजनीति कमजोर गराउन यो हत्या गरिएको हुनुपर्छ ।’ यस्तै अर्काे कारणमा इटहरीको जय बाबा इँटा उद्योग खगेन्द्र श्रेष्ठको भए पनि सञ्चालन गर्ने सम्पूर्ण जिम्मेवारी (सुपर भाइजर) फिदाकै भएकाले यो सह्य नहुने अन्य इँटा व्यवसायीको योजनामा उनको हत्या भएको हुन सक्ने तयुबको अनुमान छ ।

यस्तै गत असोज १२ गते साथीले बोलाएर घरबाट लगिएका इटहरी–११ का १५ वर्षीय छोरा इमतियाज मियाँ चार दिनपछि मृत फेला परे । स्थानीय अवजल मियाँका छोरा इमतियाजको शव घरदेखि दुई सय मिटर दक्षिण–पूर्वतर्फ धान खेतमा फेला परेको थियो । पेट्रोल छर्केर आगो लगाई डढेको अवस्थामा उनको शव भेटिएको थियो ।

यस्तै असोज ४ गते गोली हानेर सुनसरीकै हरिनगर–२ स्थित रैरयान नेसनल स्कुलका सञ्चालक ५० वर्षीय मौलाना खुर्सिद आलमको हत्या भयो । उनको हत्या भारतीय आपराधिक समूहबाट भएको आशंका गरिएको छ । घटना छानबिनका लागि गृहमन्त्रालयले प्रदेश नं. १ का एसएसपी किशोर दाहालको संयोजकत्वमा छानबीन समिति गठन गरेको थियो । छानबिनमा सिआइबीको टोली पनि खटिएको थियो ।

समितिले सरकारलाई प्रतिवेदन त बुझाएको छ तर हत्यारा भने अझै पहिचान हुन सकेको छैन । छानबिन समितिका संयोजक एसएसपी दाहाल भन्छन्, ‘हामीले हत्याबारे अनुुसन्धान गरी प्रतिवेदन सरकारलाई बुझाइसकेका छौं, दोषी पत्ता लगाएर पक्राउ गर्ने काम त समतिको होइन नि ?’

गढी–२ की अञ्जलीकुमारी चौधरी र दुहबी–११ का जीवन चौधरीबीच गाढा प्रेम सम्बन्ध थियो । तर परिवारलाई स्वीकार नभएकाले उनीहरू कात्तिक अन्तिम साता घरबाट भागे । भागेको भोलिपल्ट दुहबी–२ मा झुन्डिएको अवस्थामा अञ्जली मृत भेटिइन् । उनको हत्या नै भएको भन्दै अञ्जलीका आफन्तले किटानी जाहेरी दिएपछि पक्राउ परेका जीवन अहिले पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

यस्तै दुई महिनाअघि दुहबी क्षेत्रमै करिब ५० वर्षीय पुरुषको हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनायो । अहिलेसम्म ती व्यक्तिको नाम–थर खुल्न सकेको छैन । यसरी सुनसरीमा साउनयता मात्र ११ वटा हत्याका घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । एकपछि अर्काे हत्या हुन थालेपछि जिल्लाबासी त्रासमा परेका छन् ।

प्रकाशित: १६ मंसिर २०७५ ०२:१५ आइतबार

सुनसरी हत्या