समाज

दुर्घटनामा १ जनाको मृत्यु, चार घाइते

कावासोती – नवलपरासीको नवलपुरमा सोमबार राति छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ। ४ जना घाइते भएका छन्।

गैँडाकोट नगरपालिका–४ मा ना२ह ५७५१ नम्बरको अटोरिक्सा रोकिराखेको ना२ह ८८४ नम्बरको अटोरिक्सासँग ठोक्किँदा लमजुङ सुन्दरबजारका ६० वर्षीया लुरी सार्कीको मृत्यु भएको हो। गम्भीर घाइते उनको उपचारको क्रममा भरतपुरस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।

यस्तै कवासोती– १५ बरौलीको भित्री सडक खण्डमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा ४ जना घाइते भएका छन्। लु४०प २३३३ नम्बरको मोटरसाइकल र ना२३प ७८७१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा कावासोती–१२ का २५ वर्षीय राज गुरौ, कावासोती–१४ का २१ वर्षीय समिल थापामगर, सोही ठाउँका २० वर्षीय वीरेन्द्र महतो र १९ वर्षीय बिवेक थनेत घाइते भएका हुन्। उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।  (रासस)

प्रकाशित: ४ मंसिर २०७५ ०५:१८ मंगलबार

दुर्घटना नवलपरासी