समाज

नागरिककर्मी गौतम सम्मानित

काठमाडौं– नागरिक दैनिकका म्याग्दी संवाददाता हरिकृष्ण गौतम सम्मानित भएका छन्। म्याग्दी प्रवासी नेपाली संघ, मोना यूएईले गरिब तथा विपन्नको उपचार, शिक्षा दिक्षाका साथै परोपकारी पत्रकारितामार्फत मानवीय तथा सामाजिक क्षेत्रमा योगदान पु-याएको भन्दै गौतमलाई सोमबार म्याग्दीमा एक कार्यक्रम गरी सम्मान गरिएको हो।

रोजगारको सिलसिलामा यूएईमा पुगेका म्याग्देलीको साझा संस्थाले जिल्लामा समाचारलाई विभिन्न माध्यमबाट विश्वसामु पु-याउन खेलेको भूमिकाको उच्च मुल्याङ्कन गर्दै संस्थाका महासचिव सुवास राम्जाली र सांस्कृतिक उपसमिति सदस्य रुपा मिजारले नगद पाँच हजार ५ सय ५५ रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए। गत अगष्ट १२ गते बसेको मासिक बैठकले सम्मान गर्ने निर्णय गरेको मोना यूएईका महासचिव राम्जालीले बताए। 

उनले कलमको माध्यमबाट जिल्लाका दुर्गम क्षेत्रमा शिक्षाबाट बन्चित भएका र उपचारमा आर्थिक समस्या भएका विरामीको उपचारमा खेलेको भूमिकाले पत्रकारिताको शीर उच्च बनाएको बताउँदै प्रोत्साहन स्वरुप सम्मान गरिएको बताए। करिब एकदशक देखि म्याग्दीको पत्रकारितामा सक्रिय रहेका गौतमले सामाजिक तथा परोपकारी पत्रकारितामा कमल चलाउने गरेका छन्। 

पत्रकारिता विषयमा स्नातकोत्तर गरेका गौतमले सामाजिक क्षेत्रमा कमल चलाएवापत् यसअगाडी विभिन्न संघसंस्थाबाट सम्मानित भइसकेका छन्। सम्मान कार्यक्रममा परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य, लायन्स क्लव बेनी पिससिटीका अध्यक्ष लोकेश पुन लगाएतका सहभागिता रहेको थियो।  

प्रकाशित: ३ मंसिर २०७५ ११:४० सोमबार

हरिकृष्ण_गौतम सम्मानित नागरिक_दैनिक