समाज

बन्दीपुरमा बन्ने भयो कृत्रिम ताल

दमौली–तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा कृत्रिम ताल बनाइने भएको छ। पहाडकी रानी नामले परिचित बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्न मानवनिर्मित ताल बनाउन लागिएको हो ।

आपतकालीन उपयाेगका लागि पानीको भण्डारण, नौलो मौलिक ताल, पार्क एवं बस्ती विस्तार गर्ने उद्देश्यसहित ताल बनाउन लागिएको हो । बन्दीपुर गाउँपालिका–२ र ४, गैराबारीमा बन्ने ताल १५ रोपनी क्षेत्रफलमा फैलिनेछ । तालको नाम ‘बन्दीकापुर ताल’ राखिने भएको छ।
 ताल निर्माण गर्न बन्दीपुर गाउँपालिका–४ का अध्यक्ष हरेराम थापाको अध्यक्षतामा समिति गठन गरिएको छ । समितिका अध्यक्ष थापाले ताल निर्माणका सम्बन्धमा बन्दीपुर घर भई हाल जिल्ला बाहिर रहेकासँग छलफल गर्ने तयारी गरिएको जनाए। 

करीब दुई करोड ५० लाखको लागतमा बन्ने तालका लागि विभिन्न निकायबाट स्रोत जुटाइनेछ । ताल बनाउन शहरी विकास मन्त्रालयबाट बजेट विनियोजन भएको छ । तालको विसं २०६८ साउन ४ गते तत्कालीन उपराष्ट्रपति परमानन्द झाले शिलान्यास गरेका थिए । निर्माण शुरु भएको दुई वर्ष्भित्र ताल निर्माण सक्ने लक्ष्य लिइएको छ । 

सात रोपनी क्षेत्रफलको सार्वजनिक जग्गा र आठ रोपनी व्यक्तिको जग्गा अधिग्रहण गरी ताल निर्माण गर्न लागिएको समितिका पूर्वअध्यक्ष सुदर्शन प्रधानले जानकारी दिए। उनका अनुसार जग्गा अधिग्रहण गर्ने कामसमेत सुरु भइसकेको छ । समितिले ११ लाखको लागतमा ५ आना जग्गा खरिद गरिसकेको छ । उक्त रकम पनि समितिका सदस्यहरुबाटै उठाइएको उनले बताए । उक्त ताल वरिपरि होटलसमेत खोल्ने योजना बनाइएको छ । साथै तालमा पौडी प्रशिक्षण, डुङ्गा व्यवसायलगायत सञ्चालन गरिनेछ । तालमा पानीको व्यवस्था गर्न रानीवन र गुरुङ्चे डाँडामा ठूला–ठूला ट्याङ्की बनाइनेछ । रासस

प्रकाशित: २६ कार्तिक २०७५ ०७:२१ सोमबार

बन्दीपुर कृत्रिम_ताल पर्यटकीय_नगरी