समाज

परिवारले प्रेम सम्बन्ध स्विकार नगरेपछि विष सेवन, साथीलार्इ पनि खुवाइयाे

गुल्मी - गुल्मीको रेसुङ्गा नगरपालिका १० को भगवती माध्यमिक विद्यालयका तीन छात्राले विष सेवन गरेका छ्न्। कक्षा १० मा अध्यनरत सोही वडाका १६ वर्षीया समिक्षा थापा, सपना थापा र पार्वती केसीले विष सेवन गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक दिपक कुमार बस्नेतले जानकारी दिए।

समिक्षाले मुसाको विष बोतलमा घोलेर शुरुमा आफुले खाएको र पछि अरु दुई जना साथीहरूलाई खानेपानी भनेर खुवाएको उपरीक्षक बस्नेतले बताए। बिहान अतिरिक्त कक्षा चलिरहेको बेलामा पिसाब फेर्न भनेर बाहिर निस्किएका उनिहरुले साढे नौ बजे विष सेवन गरेको बिद्यालयले जनाएको छ।

उनीहरुलार्इ जिल्ला अस्पताल तम्घासमा सामान्य उपचार पछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास रेफर गरिएको प्रहरीले जनाएको छ। शुरुमा विष सेवन गर्ने समिक्षाले आफ्नो स्थानीय एक दलित केटासँग प्रेम सम्बन्ध रहेको र घरकाले पटकपटक तनाव दिएपछि विष सेवन गरेको बताइन्।

प्रकाशित: १४ कार्तिक २०७५ ०९:२५ बुधबार

रेसुङ्गा नगरपालिका विष_सेवन