समाज

इलाममा नयाँ भाडादर तोकियो

इलामको ट्याक्सी स्टेन्डमा पार्किङ गरिएका जीप । तस्बिर : भीम/नागरिक

इलाम – इलाम सदरमुकामबाट छुट्ने विभिन्न स्थानको नयाँ भाडादर निर्धारण गरिएको छ। जिल्ला यातायात व्यवस्थापन समितिले १ सय ७३ वटा सडक रुटको नयाँ भाडादर हेरफेर गरेकामा कुनै रुटको दर बढाइएको छ भने कुनैको घटाइएको छ।

यातायात व्यवस्था विभागले देशभरका पक्की सडकको भाडादर १० प्रतिशतसम्म बढाउन सक्ने निर्णय गरेको थियो। इलामका कच्ची सडकमा भने २०७३ साल चैतमा तोकिएको भाडादर लागू भइरहेको थियो।

नयाँ भाडादरअनुसार अब इलाम सदरमुकामदेखि झापा बिर्तामोडसम्म जिपको भाडादर २ सय ९० रुपैयाँ कायम भएको छ। यसअघि सवारीका साधनले अढाई सय रुपैयाँ लिइरहेको ८४ किलोमिटरको यो रुटमा १० प्रतिशत भाडा बढ्दा २ सय ७५ रुपैयाँ कायम हुनुपर्ने हो। तर, यातायात व्यवस्था विभागले इलामदेखि झापाको सुनमाईसम्मको भाडादर मात्रै तोकेकाले बिर्तामोडसम्म अढाई सय रुपैयाँमै पनि यात्रु ओसार्न नसकिने व्यवसायीको गुनासो थियो।

पूर्वेली जिप तथा ट्याक्सी प्रालि अध्यक्ष गृष्म सुब्बाले जिप डिलक्सको वर्गीकरणमा पर्ने र जिप किन्दा व्यवसायीले बसमा जस्तो छुट नपाउने भएकाले व्यवसायीलाई अन्य रुटको तुलनामा इलाम–बिर्तामोडमा पोस नआउने गरेको बताए। ‘इलामबाट अन्य पक्की सडककै रुटको भाडादरसँग तुलना गर्दा इलाम–बिर्तामोडको भाडादर निकै कम थियो,’ सुब्बाले भने, ‘डिलक्सको मापदण्डमा भाडादर हिसाब गर्दा इलाम–बिर्तामोड ३ सय २० रुपैयाँ हुनेथियो तर हामीले २ सय ९० रुपैयाँ मात्रै कायम गरेका छौं।’ समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बिर्तामोड–इलामको भाडादर झापाका सवारी साधनले ३ सय रुपैयाँ तोकेपनि इलामका व्यवसायीले २ सय ९० लिने सहमति भएको बताए।

इलामदेखि ४ किलोमिटरमा रहेको बिब्ल्याँटे बजार पुग्न अब ३ रुपैयाँ भाडा बढेको छ। २५ रुपैयाँ रहेको यो रुटको भाडा २७ पुर्याइएको छ। मंगलबारे–बिर्तामोड ६९ किलोमिटर कच्ची सडकको बस भाडादर साढे ४ सय, राँके–दमक ७८ किलोमिटरको बसको भाडा ५ सय रुपैयाँ कायम गरिएको छ। ३१ किलोमिटर पक्की सडक रहेको इलाम–मंगलबारेको भाडादर भने १ सय ७० रुपैयाँ कायम गरिएको छ। यसअघि भाडा निर्धारण गर्दा कच्ची सडक रहेकाले २ सय रुपैयाँ भाडा तोकिएकामा अहिले यो रुट कालोपत्रे भएपछि भाडादर घटाइएको प्रजिअ तिम्सिनाले बताए।

समितिले जिल्लाका सडकको अवस्था, यसअघि तोकिएको भाडादर र विभागले तोकेको मापदण्डलाई आधार बनाएर नयाँ भाडादर निर्धारण भएको बताए। ‘कच्ची सडकहरू सबैको अवस्था एउटै नभएकाले सबै कच्ची सडकको प्रतिकिलोमिटर एउटै भाडादर चाहिँ छैन,’ उनले भने, ‘हिजोको भाडादर, सडकको अहिलेको अवस्थालगायत धेरैवटा आधारलाई लिएर नयाँ भाडादर निर्धारण गरेका छौं।’ उनले साविकमा लिएको भाडादरमा १० प्रतिशतभन्दा बढी चाहिँ कतै पनि नबढाइएको र अवस्था सुध्रिएका कच्ची सडकको भाडादर घटेको बताए।

विभागले तोकेभन्दा बढी भाडा व्यवसायीले नलिने र नयाँ भाडादर अनिवार्य रूपमा सबै सवारी साधनमा यात्रुले देख्नेगरी टाँस्ने सहमति पनि व्यवसायी र समितिबीच भएको छ। जिल्लाका राजनीतिक दल, व्यवसायीलगायत समेतको सहभागितामा बसेको बैठकले सवारी साधनले यही कात्तिक १५ देखि यात्रुलाई टिकट अनिवार्य दिनुपर्ने, काउन्टरमा बस्ने कर्मचारीले आफ्नो र आफ्नो संस्थाको परिचय खुल्ने परिचयपत्र लगाउने पनि निर्णय गरेको छ। 

प्रकाशित: १० कार्तिक २०७५ ०४:३० शनिबार

इलाम गाडी नयाँ_भाडादर