समाज

ढुङ्गा, बालुवा र गिटीको उत्खनन नियमन गर्न समिति

काठमाडौ–सरकारले ढुङ्गा, बालुवा र गिट्टीको उत्खनन र बिक्री प्रक्रियाको नियमन गर्न अनुगमन तथा समन्वय समिति गठन गरेको छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ढुङ्गा, बालुवा र गिट्टीको उत्खननको नियमनका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा समिति गठन गरेको हो। मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालका अनुसार उनले ढुङ्गा, बालुवा र गिट्टीको जथाभावी उत्खनन र बिक्री भएकाले नियन्त्रण गर्नका लागि समिति गठन गरिएको बताए। 

समितिको सदस्यमा समन्वय उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, प्रदेशअन्तर्गत जिल्ला वन, वातावरण तथा भूसंरक्षण अनुगमन समितिले तोकेको कार्यालय प्रमुख, इञ्जिनियर र जिल्ला समन्वय अधिकारी सदस्यसचिव रहने छन् । 

समितिले ढुङ्गा, बालुवा र गिट्टी उत्खननका सम्बन्धमा स्थानीय तहलाई आवश्यक निर्देशन दिनसक्ने सहसचिव नेपालले बताए । उनका अनुसार समितिले ढुङ्गा, बालुवा र गिट्टी उत्खनन गर्दा वातावरणीय अध्ययन प्रतिवेदनको शर्तको परिपालना गरे÷नगरेको, स्वीकृत, विधि प्रक्रिया परिमाणबमोजिम उत्खनन र सङ्कलन भए/नभएको राजश्व चुहावट र चोरी निकासी भए÷नभएको, ढुङ्गा, बालुवा र गिट्टीको मूल्य निर्धारण, क्रसर उद्योगले तोकेको मापदण्ड पूरा गरे÷नगरेको जस्ता कार्य स्थानीय तह, उत्खनन सङ्कलनकर्तालाई गराउनेछ । 

समितिले दिएको निर्देशन पालना नगरे ढुङ्गा, बालुवा र गिट्टी उत्खननमा रोक लगाउने अधिकारसमेत दिइएको उनले बताए। रासस

प्रकाशित: ९ कार्तिक २०७५ ११:५१ शुक्रबार

उत्खनन ढुङ्गा बालुवा