समाज

करबाकेलीमा होमस्टे तालिम

काठमाडौं– म्याग्दीमा एक्सप्लोर गरिएको नयाँ पदमार्ग ‘करबाकेली इको टे«क’ प्रवर्द्धन एवं स्थानीयको क्षमता अभिबृद्धि गर्न होमस्टे व्यवस्थापन तालिम आयोजना गरिएको छ।  

म्याग्दी भ्रमण वर्ष २०७५को अबसरमा शुभारम्भ गरिएको ‘करबाकेली इको ट्रेक’का होमस्टे र होटल सञ्चालकसमेत गरी ४० जना तालिममा सहभागी भएका थिए। उनीहरुलाई नाथम कलेज काठमाडौंको समूहले होमस्टे व्यवस्थापन, कुकिङ, सरसफाई, अतिथि सत्कार लगायत आधारभूत तालिम दिएको थियो। 

अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडामा करबाकेली बाबा संरक्षण समिति र करबाकेली पर्यटन व्यवस्थापन समितिले ७ दिनसम्म तालिम दिलाएको थियो। ‘पदमार्गका गाउँलेहरु एकदमै उत्साहित र जागरुक पाइयो’, नाथमका प्रमुख प्रशिक्षक मनराजा खत्रीले भने। 

समितिका सल्लाहकार चामबहादुर पुनका अनुसार तालिममा म्याग्दीका राम्चे, रिमा, फूलबारी र काफल डाँडा तथा पर्वतको कुवापानी र लोप्रे गाउँका पर्यटनकर्मी सहभागी भएका थिए।  

कन्सेप्ट नेपाल, काठमाडौंको प्राविधिक सहयोगमा गत बैशाखमा यो पदमार्ग एक्सप्लोर गरिएको हो। अन्नपूर्ण क्षेत्रको नयाँपुल हुँदै पुनहिल भएर फूलबारीबाट बेनी झर्ने नयाँ पदमार्गमा पदमार्गमा पर्यटक आकर्षित हुन थालेका छन्।  

करबाकेली पर्यटन व्यवस्थापन समितिका अध्यक्ष यामबहादुर पुनका अनुसार पदमार्गको नक्शा, वृत्तचित्र, भिडियो, वेवसाइट र क्यालेन्डर प्रकाशन गरिएको छ। पदमार्गमा संकेत चिन्ह राख्ने र मर्मत गर्ने काम चाँडै पुरा गरिने छ। 

प्रकाशित: २९ आश्विन २०७५ १०:२७ सोमबार

म्याग्दी होमस्टे_तालिम करबाकेली_इको_ट्रेक