ओखलढुङ्गा - ओखलढुङ्गाको रुम्जाटार विमानस्थलमा मङ्गलवार देखि नियमित उडान हुने भएको छ। दुई वर्षदेखि अवरुद्ध जिल्लाको एक मात्र उक्त विमानस्थल मङ्गलवारदेखि पुन: सञ्चालन हुने भएको हो।
नेपाल एयरलाइन्सको विमानले काठमाडाैं–रुम्जाटार उडान भर्ने तयारी गरिरहेको प्रदेश सांसद अम्विरबाबु गुरुङले बताए। “रुम्जाटारमा मङ्गलवार देखि नियमित उडान गराउने सहमति अनुसार तयारी भइरहेको छ”, उनले भने, “जिल्लाको समृद्धिका लागि महत्वपूर्ण मानिएको यो विमानस्थल अब कुनै पनि बहानामा बन्द हुन दिँदैनौ।” उक्त विमानस्थल नियमित सञ्चालनमा आएपछि पर्यटन प्रवर्द्धनसँगै यस क्षेत्रका नागरिकलाई आवतजावतमा निकै सहज हुने गुरुङको विश्वास छ।
सांसद गुरुङका अनुसार सातामा एक दिन रुम्जाटार विमानस्थलमा उडान हुनेछ। विभिन्न बहानामा नेपाल वायुसेवा निगम र विभिन्न निजी कम्पनीले भर्दै आएको उडान रोकिएको दुई वर्षपछि नेपाल एयरलाइन्सले सातामा एक दिन रुम्जाटारमा उडान भर्ने तालिका सार्वजनिक गरेको छ। रासस
प्रकाशित: २१ आश्विन २०७५ ०८:४७ आइतबार