समाज

अवैध गुट्खा कारखाना सञ्चालक धरौटीमा रिहा

काठमाडौं – श्रीराम उद्योग प्रालि बुटवल नामको ट्रेडमार्क चोरी गरी नक्कली स्टिकर बनाएर फ्याक्ट्री सञ्चालन गरेको आरोप लागेका सन्तोष भट्ट एक करोड रुपैयाँ धरौटीमा छुटेका छन्। करिब डेढ महिनाअघि प्रहरीले फरार आरोपितका रूपमा भट्टको नाम आन्तरिक राजस्व कार्यालय बालाजुमा पठाएको थियो । त्यसपछि भट्ट उक्त कार्यालयमा हाजिर भई एक करोड धरौटीमा छुटेका हुन् । डेढ महिनाअघि प्रहरीले काठमाडौंका पाँच ठाउँमा रहेका अवैध फ्याक्ट्रीमा छापा मारी सिलबन्दी गरेको थियो । भट्टकै घरमा रहेको कम्पनीसमेत सिलबन्दी गरिएको थियो। त्यति बेला अवैध फ्याक्ट्री सञ्चालन गरेको आरोपमा प्रहरीले भारतीय नागरिक ४२ वर्षीय जयनन्दप्रसाद चौरसिया र ३४ वर्षीय मुनिलाल चौरसियालाई पक्राउ गरेको थियो । उनीहरू भने थुनामै छन्।

आन्तरिक राजस्व कार्यालयका प्रमुख इन्द्र देवकोटाले छापा मारेर बरामद भएको सुर्ती र सुपारीबारे अनुसन्धान भइरहेको र भट्टलाई एक करोड धरौटीमा छाडिएको बताए । ‘भट्ट हाजिर भएपछि उनलाई धरौटीमा छाडिएको हो। दोषी देखिए कारबाही हुन्छ । अरू व्यक्ति पनि संलग्न देखिएकाले उनीहरूको खोजी भइरहेको छ,’ देवकोटाले भने।

फरार सन्तोष भट्ट हाजिर भएपछि धरौटीमा छाडिएको हो । दोषी देखिए कारबाही हुन्छ । अरू व्यक्ति पनि संलग्न देखिएकाले खोजी भइरहेको छ।

उनका अनुसार नक्कली प्याकिङ तयार गर्ने व्यक्तिहरूको हकमा कस्तो कारबाही गर्ने भनेर आन्तरिक राजस्व विभागसँग राय मागिएको छ । ‘विभागसँग हामीले केही कानुनी परामर्श लिन बाँकी छ र यस विषयमा जवाफ पनि नआएकाले यसको प्रक्रियामा केही ढिलाइ भएको हो,’ आन्तरिक राजस्व कार्यालय बालाजुका प्रमुख देवकोटाले भने । उनका अनुसार गुट्खा बेच्न प्रयोग गरिएको गाडीका धनीलाई कानुनबमोजिम २५ हजार रुपैयाँ जरिवाना गर्ने तयारी छ।

प्रहरीले छापा मार्दा कालीमाटीबाट चौरसियाद्वयले घर भाडामा लिई लुकाइछिपाई राखेको अवस्थामा ३१ बोरा गुट्खा बरामद भएको थियो । त्यस्तै पोखरामा बेच्न लैजाँदै गरेको एक गाडी सामान पनि थानकोट प्रहरीले बरामद गरेको थियो । थानकोट प्रहरीका प्रमुख नवरत्न पौडेलले गाडी चेकजाँच गर्ने क्रममा ३० बोरा गुट्खा फेला परेपछि चालकलाई नियन्त्रणमा लिएर अन्य स्थानमा पनि छापा मारेका थिए । ‘हामीले भेटेका जति व्यक्ति र सामान सबै आन्तरिक राजस्व कार्यालय बालाजुमा बुझाएका थियौं । बाँकी काम उतैबाट हुने भएकाले पक्राउ गर्न र छापा मार्न सहयोगी भूमिकामात्रै हामीले निर्वाह गरेका हौं,’ पौडेलले भने।

काठमाडौंको लोलाङ हाइटमा चौरसिया र भट्टले सञ्चालन गर्दै आएको अवैध गुट्खा फ्याक्ट्री फेला परेको थियो । बाहिर ‘शुभकामना सुर्ती उद्योग’ को बोर्ड राखेर उनीहरूले प्याकिङमा श्रीराम टोबाको कम्पनी उल्लेख गरी गुट्खा बनाएर बेच्दै आएका थिए । भारतीय र नेपाली नागरिक मिलेर अवैध गुट्खा फ्याक्ट्री सञ्चालन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । श्रीराम टोबाको प्रालिका सञ्चालक बलराम अधिकारीले पाँच स्थानमा छापा मार्दा सबै स्थानमा आफूहरूको ट्रेडमार्क चोरी भएको नक्कली स्टिकर टाँसिएको फेला परेको बताए। ‘बुटवलबाट काठमाडौंको बजारमा सामान बिक्री गर्न आउनुपर्नेमा काठमाडौंबाट पोखरा लगी बिक्री हुँदैछ भनेपछि शंका लागेर प्रहरीलाई खबर गरेका थियौं,’ उनले भने।

प्रकाशित: १८ आश्विन २०७५ ०२:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App