समाज

दोषी पत्ता लगाउन प्रहरी असफल

काठमाडौं - काठमाडौंमा एक महिनायता मात्र पूर्वराजदूत केशव झासहित तीन जनाको हत्या भयो । तर, तिनको हत्यारा को हुन्, प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन। गत भदौ ४ गते पूर्वराजदूत झा बबहरमलस्थित आफ्नै घरभित्र मृत फेला परे। उनी मृत फेला परेको थाहा पाउनेबित्तिकै घटनास्थल पुगेको प्रहरीले उनको हत्या भएको जनाए पनि हत्या कसले र किन गरेको हो भन्ने अहिलेसम्म पत्ता लगाउन सकेको छैन।

उनको हत्यामा संलग्न आशंकामा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेका व्यक्तिहरू पनि काठमाडाैं जिल्ला प्रशासन कार्यालयबाट आठ हजार रुपैयाँ धरौटीमा रिहा भइसकेका छन्। झाको घरको सुरक्षागार्ड सानुकान्छा तामाङ र बगैंचामा काम गर्ने दुई मालीलाई प्रहरीले गरेको पोलिग्राफ टेस्टपछि जिल्ला प्रशासन कार्यालयले छाडेको हो। भान्छामा प्रयोग गर्ने धारिलो चक्कुबाट झाको हत्या भएको थियो तर, एक महिना बित्यो प्रहरीले हत्यारा को हो पत्ता लगाउन सकेको छैन। महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहले भने झाको हत्याबारे अनुसन्धान जारी रहेको बताएका छन्।

घटना भएको दिन भने प्रहरीले एक/दुई दिनमै हत्यारा पत्ता लगाउने बताएको थियो। ‘झा हत्याका विषयमा अनुसन्धान भइरहेको छ, प्रहरीले सकेसम्म सबै प्रकारका प्रविधि प्रयोग गरेर अनुसन्धान गरिरहेको छ,’ महाशाखा प्रमुख एसएसपी सिंहले भने।

२० दिनभन्दा बढी अनुसन्धानपछि प्रहरीले पक्राउ परेका सुरक्षागार्ड तामाङसहित तीन जनालाई छाडेको हो । प्रमुख जिल्ला अधिकारीको निर्देशनमा जनही ८ हजार रुपैयाँ धरौटी राखेर उनीहरूलाई रिहा गरिएको हो । घटनामा संलग्नता नदेखिएपछि उनीहरूलाई छोडिएको एसएसपी सिंहले बताए। ‘हामीले विभिन्न तरिकाबाट उनीहरूबारे अनुसन्धान गरेका थियौं । तर, तत्काललाई उनीहरूको कुनै संलग्नता देखिएन, त्यसैले धरौटीमा रिहा भएका हुन्, त्यस्तो केही देखिए पुनः उनीहरूमाथि अनुसन्धान हुनेछ,’ एसएसपी सिंहले भने।

लक्ष्मीसँग आएका युवक कहाँ छन्?
श्रीमान–श्रीमती भएको बताएका थिए। भदौ १३ गते बिहान लक्ष्मीसँगै आएका युवक भने बाहिरबाट कोठामा ताल्चा लगाएर गएका थिए। महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रामदत्त जोशीले बसुन्धराको गेष्ट हाउसमा मृत फेला परेकी परियारको हत्या भएको हुन सक्ने आशंका व्यक्त गरेका थिए। ‘उनको हत्या भएको हुन सक्छ,’ उनीसँगै आएका केटा साथी वा श्रीमान् जे हुन् उनको खोजी भइरहेको छ,’ एसपी जोशीले भने। तर, प्रहरीले ती युवकको पहिचान गरेको बताए पनि अहिलेसम्म पक्राउ गर्न भने सकेको छैन।

जिसीको हत्या कसले ग-यो?
भदाै १० गते हराएका संगीत जिसी भदाै १७ गते स्वयम्भूमा टाउकाे चुँडिएकाे अवस्थामा फेला परेका थिए। बाग्लुङ बुर्तिवाङका जिसी मृत अवस्थामा फेला परे पनि प्रहरीले उनकाे हत्या कसले गरेकाे हाे भन्ने जवाफ दिन सकेकाे छैन। उनका बुबा नवीन जिसी धेरै पटक महानगरीय प्रहरी परिसर कार्यालय र स्वयम्भू प्रहरी वृत्तमा पुगे तर प्रहरीकाे एउटै उत्तर थियाे- अनुसन्धान हुँदैछ।

भदाै १० देखि हराइरहेका जिसीकाे खाेजीका लागि प्रहरीमा उनका अाफन्तले ११ गते नै उजुरी दिएका थिए। जिसी अध्ययनका लागि काठमाडाैंमा बसेका थिए। जिसीका अाफन्तले हत्या भएकाे हुनसक्ने अाशंका गरेका छन्। पीडितका अाफन्तले गृहमन्त्री रामबहादुर थापा र परिसर प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक वसन्त लामालार्इ भेट गरी अनुसन्धान गर्न माग गरेका छन्। उनका बुबा नवीनका अनुसार प्रहरी परिसर कार्यालयमा एक किशाेरीका विरूद्ध किटानी जाहेरी समेत दिइएकाे थियाे। 'हामीले शंका लागेर एक किशाेरीका विरूद्ध किटानी जाहेरी समेत दिएका छाैं,' अहिलेसम्म एकजनालार्इ पनि पक्राउ गरिएकाे छैन,' उनका बुबा नवीनले नागरिकसँग भने।

प्रकाशित: ९ आश्विन २०७५ ०२:०४ मंगलबार

प्रहरी हत्या अनुसन्धान