समाज

आफ्नै पैसा र पसिनामा सडक मर्मत

आफ्नै लगानी र श्रमदानमा सदरमुकाम जाने सडक मर्मत गर्दै गोरखाको सहिद लखन गाउँपालिका–७ का बासिन्दा। तस्बिर : नागरिक

गोरखा - गोरखाको सहिद लखन गाउँपालिका वडा नम्बर ७ का बासिन्दाले आफ्नै प्रयासमा सडक मर्मत सुरु गरेका छन्। वर्षा र पहिरोका कारण गाउँबाट सदरमुकाम जाने सडक बन्द भएपछि स्थानीय बासिन्दा चन्दा संकलन गरी मर्मतमा जुटेका हुन्।

‘घरैपिच्छे एक जना काम गर्न आउने नियम बनाएका छौं,’ सडक निर्माण समितिका संयोजक धनबहादुर थापाले भने, ‘स्थानीय क्लब, आमा समूह, भूपू सैनिकजस्ता विभिन्न समूहबाट करिब ४० हजार रुपैयाँ संकलन भएको छ।’ तीन लाख ५० हजार रुपैयाँ सडक मर्मतमा खर्च हुने अनुमान गरिएको उनले बताए। श्रमदान मात्रै गरेर स्थानीयले सडक बनाउन सक्ने अवस्था छैन। पहिरोले सडक बगेका कारण करिब ४० थान जाली आवश्यक पर्छ। तारजाली ल्याउन स्थानीय बासिन्दाले घरधुरीपिच्छे पाँच सयदेखि एक हजार रुपैयाँ उठाउने तयारी गरेका छन्।

उक्त सडक मर्मतपछि मास्किछापा, आँपस्वाँरा, पिपलछाप, चारघरेका गरी ३ सय ५० घरधुरीका बासिन्दा लाभान्वित हुनेछन्। अहिले सदरमुकाम पुग्न स्थानीय बासिन्दालाई एक घण्टासम्म हिँड्नु पर्छ । निर्माण सामग्री तथा खाद्यान्न बोकेरै गाउँ ल्याउनुपर्ने बाध्यता छ। पहिरोले सडक बगाएर साँघुरो बनाएका कारण अहिले जोखिमले मोटरसाइकल मात्रै चल्छन्। सडक बिग्रिएका कारण एम्बुलेन्स नजाने भएकाले बिरामीलाई समेत स्ट्रेचरमा घण्टौं बोकेर स्वास्थ्य संस्था पु-याउनुपर्ने अवस्था रहेको स्थानीय बासिन्दा बताउँछन्।

सडक मर्मतका लागि पटकपटक अनुरोध गर्दा पनि गाउँपालिकाबाट कुनै सहयोग नमिलेको वडासदस्य गोपाल रानाले बताए। उनले भने ‘सबैतिर सडक बिग्रिएको छ, अहिले जाली छैन, सकेको सहयोग गरौंला भनेका छन् तर, अहिलेसम्म केही पाएका छैनौं।’ कतैबाट सहयोग मिल्ने छाँटकाँट नदेखेपछि स्थानीय आफै सडक मर्मत गर्न कस्सिएका हुन्।

वडा कार्यालयबाट गल, गैंचीबाहेक अन्य केही सहयोग भएको छैन। वडाअध्यक्ष शरण श्रेष्ठले सडक मर्मत गर्ने शीर्षकको बजेट गाउँपालिकासँग रहेको र आफूले जानकारी गराएको बताए। उनले भने ‘वडाले सक्ने सहयोग गरेका छौं, अझै सहयोग जुटाउन म पनि लागिरहेको छु, वडाको बजेट योजनामा छुट्टयाइसकेका छौं, सडक मर्मत गर्न गाउँपालिकाले दिनुपर्ने हो, दिएको छैन।’ स्थानीयले आफै श्रमदान गरेर सडक मर्मत गर्नु अन्य ठाउँका बासिन्दालाई पनि पाठ हुने उनले बताए। उनले भने, ‘त्यो बाटो नबन्दा स्थानीयले धेरै दुःख पाएका छन्, वडाले गाउँपालिकासँग समन्वय गरेर सहयोग गर्छ।’

प्रकाशित: ८ आश्विन २०७५ ०१:५९ सोमबार

गोरखा सडक_मर्मत