समाज

मलेसियामा विषाक्त मदिरा सेवनबाट ६ नेपालीको मृत्यु, १७ जना गम्भीर

काठमाडौं – मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या बुधबार बिहानसम्म ६ पुगेको छ। विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर बिरामी परेका छन्। 

उनीहरु मलेसियाको सेलेङगर शहरमा रोजगारीका क्रममा थिए। उनीहरुको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको मलेसियाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलले जानकारी दिए। 

सुनगाई बुलोच अस्पतालमा उपचारका क्रममा ५ जनाको मृत्यु भएको उनले बताए।सोही अस्पतालमा मदिरा सेवनबाट गम्भीर बिरामी परेका नौ नेपालीको उपचार भइरहेको छ। 

त्यस्तै काजङ अस्पतालमा पनि उपचारका क्रममा एक जनाको मृत्यु भएको छ। उक्त अस्पतालमा गम्भीर बिरामी पाँचको उपचार भइरहेको कार्यवाहक राजदूत खरेलले जानकारी दिए। व्याङटिङ, अमपाङ र क्लाङ अस्पतालमा एक–एक जनाको उपचार भइरहेको छ।

मलेसियामा विषाक्त मदिरा सेवनबाट नेपालीको मृत्यु तथा घाइते भएको खबर सार्वजनिक भएलगत्तै त्यहाँस्थित नेपाली दूतावासले दुई टोली खटाएर उपचारमा सहजीकरण गरिरहेको कावा राजदूत खरेलले जानकारी दिए। कावा राजदूत खरेलले मृत्यु भएका तथा गम्भीर अवस्थामा उपचाररत नेपालीको अवस्था बुझ्न अस्पताल पुगेका छन्। (रासस)

प्रकाशित: ३ आश्विन २०७५ ०४:०५ बुधबार

मलेसिया विषाक्त_मदिरा नेपाली मृत्यु