समाज

अपडेट : बेगनास तालमा डुंगा पल्टियो, दुई जनाको मृत्यु, चार बेपत्ता

बेगनास तालमा हराइरहेकाहरूकाे खाेजी कार्य गर्दै सुरक्षाकर्मी तथा सर्वसाधारण। तस्बिर साैजन्य : प्रदीप पाैडेल

पोखरा- दर खान माइती गएका ८ जना सवाररत डुंगा बेगनास तालको लिब्दी टुडँमा पल्टिदाँ २ जना महिलाको मृत्यु भएको छ। तीन जनाको उद्दार गरिएको छ। उद्दारपछि उपचारको लागि अस्पताल पुर्याईएकी ५१ वर्षिया कृष्णकुमारी कडेंल (बजगाई ) र ३२ वर्षिय जमुना कडेंल(गैह्रे) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। उनीहरु दुवैको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

उनलाई उद्दारपछि लेखनाथ महोरियास्थित लायन्स सामुदायीक अस्पतालमा उपचारको लागि पुर्याइएको थियो। ५ वर्षिय प्राचीन पौडेल, ७ वर्षिय शंकर खनाल, ८ वर्षिय शिव खनाल र ३२ वर्षिय रवी खनाल तालमा बेपत्ता छन्। उनीहरुको खोजीकार्य भइरहेको छ। तालबाट २८ वर्षिय सपना खनाल र निशा पौडेलको उद्दार गरिएको प्रहरीले जनाएको छ। डुंगामा एक्लै गएका कमल कंडेल तालमा डुंगा पल्टिएको देखेपछि बेहोस भएका थिए। उनी पनि तालमा खसेपछि उद्दार टोलीले उद्दार गरेको थियो।

शनिबार दिउँसो बेगनास डुंगाघाटबाट आफना बालबच्चा सहित ८ जनाको परिवार एउटै डुंगा लिएर बेगनासतालको सिरान माइततर्फ गएका थिए। बेगनास ताल लिब्दी टुडाँ नजिकै पुग्दा ५ वर्षिय प्राचीन पौडेल तालमा खसेपछि आमा निशा पौडेल उद्दारको लागि तालमा हाम फालिन्। तालमा हाम फालेपछि डुंगाको सन्तुलन गुम्यो। डुंगा पल्टियो । सबै तालमा खसे । तालमा डुंगा पल्टिए लगत्तै स्थानीयबासी उद्दारमा जुटेका थिए। निशा र सपना भने पौडी खेल्न जानेकै कारण उनीहरुलाई स्थानीयले तत्कालै उद्दार गरी बाहिर निकाले। उनीहरुको अवस्था सामान्य छ। 

कमल कडेंल भने आफन्तलाई डुगा चढाई पठाएपछि एक्लै डुंगा लिएर गएका थिए। कमल आफन्त चढेको डुंगा नजिकै पुग्दा बच्चा खसेको देखे। त्यसपछि आमा अत्तालिदैं तालमा हामफाल्दा सन्तुलन विग्रिएर डुंगा पल्टिएको देखेपछि कमल डुंगामै बेहोस भई तालमा खसेका थिए। उनलाई पनि समयमै उद्दार गरिएको थियो ।

बेगनास तालको डुंगाघाटबाट घटनास्थल पुग्न डुंगामा झण्डै आधा घण्टा लाग्छ। वेपत्ता भएकाहरुको उद्दारको लागि शसस्त्र प्रहरी बलको गोताखोर समेत जुटिरहेका छन् । स्थानीय बासिन्दा, जलारी समुदाय एवं नेपाल प्रहरी, नेपाली सेनाको टोली समेत उद्दार कार्यमा खटिएको स्थानीय बेगनास युवा क्लबका अध्यक्ष राम रानाभाटले जानकारी दिए।

तालमा डुंगा सयर गर्न अनिवार्य रुपमा लाईफ ज्याकेट लगाउनुपर्छ। तर उनीहरु आफ्नै डुंगा लिएर गएको आशंका गरिएको छ। टिकट काटेर डुंगा सयर गर्नेलाई अनिवार्य लाइफ ज्याकेट दिईन्छ। आफनै डुंगा भएकै कारण उनीहरु लाइफ ज्याकेट विना नै डुंगा लिएर गएको थिए। डुंगा व्यवसायीले सर्वसाधारणलाई अनिवार्य लाइफ ज्याकेट लगाउनुपर्ने निर्देशन गर्दै आएको भएपनि कतिपयले भने नलगाउने प्रवृत्तिले दुर्घटना निम्तिने गरेको छ।

 

 

प्रकाशित: २३ भाद्र २०७५ १०:४० शनिबार

बेगनास_ताल दुर्घटना डुंगा