समाज

सर्लाही घोषणापत्र जारी गर्दै सकियो नागरिक सम्मेलन

सर्लाहीको बागमतीस्थित होटल सीता प्यालेसमा सर्लाही घोषणापत्र जारी गर्दै नागरिक अगुवाहरू। तस्बिर : टंक/नागरिक

सर्लाही – चुरे क्षेत्र संरक्षणमा विशेष जोड दिइएको नौ बुँदे सर्लाही घोषणापत्र जारी गर्दै प्रदेश २ स्तरीय नागरिक निगरानी सम्मेलन सकिएको छ। ‘सत्याग्रह’ को आयोजनामा सर्लाहीको बागमतीमा शनिबारदेखि सञ्चालित सम्मेलन आइतबार सकिएको हो। चुरे श्रृंखला, पहाड र मधेश जोड्ने सेतु हुनुका साथै प्रदेश २ लाई एकताबद्ध गर्ने आधारसमेत भएको घोषणापत्रमा उल्लेख गरिएको छ। ‘प्रादेशिक स्तरमा उत्पादनको मेरुदण्ड नै चुरेको पर्यावरणीय व्यवस्थासँग अन्योन्याश्रित रहेकाले प्रदेशको सामथ्र्य, कृषि उत्पादन र समग्र विकास निर्माणका गतिविधिलाई चुरेबाट अलग्याएर हेर्न मिल्दैन,’ घोषणापत्रमा भनिएको छ– ‘तसर्थ चुरेको संरक्षणतर्फ सबै पक्षको ध्यान जाओस्।’

प्रदेशमा आएका ठूला परियोजनाले प्रायः स्रोतको दोहन गर्ने, वातावरण विनाश गर्ने र विपन्न समुदाय विस्थापित गर्ने स्थिति बनेको घोषणापत्रमा उल्लेख गरिएको छ। तसर्थ त्यस्ता परियोजना कार्यान्वयन गर्दा स्थानीय समुदायका आवश्यकतालाई सम्बोधन गर्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ। संघीयतालाई कार्यान्वयन गर्ने क्रममा देखापरेका संवैधानिक अस्पष्टता र अन्योल अन्त्य गर्न संघीय सरकार र संसद् तत्काल अग्रसर हुन घोषणापत्रमा आग्रह गरिएको छ।

सम्मेलनमा प्रदेश २ का आठवटै जिल्लाबाट बुद्धिजीवी, विश्लेषक, प्राध्यापक, कानुन व्यवसायी, पत्रकारलगायत नागरिक अगुवाहरूको सभागिता थियो। सम्मेलनमा प्रदेश सरकार एवं स्थानीय सरकारमा सुशासन, प्रदेशको समृद्धि लगायतका विषयमा छलफल गरिएको थियो। साथै भावी दिनमा निगरानी समेतका लागि सम्मेलन आयोजना गरिएको र सोहीअनुसार सर्लाही घोषणापत्र जारी गरिएको आयोजक सत्याग्रहका अध्यक्ष एवं वरिष्ठ पत्रकार चन्द्र किशोरले जानकारी दिए।

कार्यक्रममा राजनीति शास्त्री डा. भाष्कर गौतम, प्राध्यापक डा. भोगेन्द्र झा एवं सुरेन्द्र लाभ लगायतले सहजीकरण गरेका थिए।

प्रकाशित: १८ भाद्र २०७५ ०२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App