समाज

सरकारी मोटरसाइकल चाउमिन र पाउरोटी बेच्न प्रयोग

पञ्चपुरी नगरपालिकाको मोटरसाइकलमा विक्रीका लागि झुण्ड्याइएका चाउमिन र पाउरोटीका झोला ।    तस्बिरः नगेन्द्र/नागरिक

सुर्खेत – पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको सरकारी मोटरसाइकल चाउमिन र पाउरोटी विक्रीमा प्रयोग गरेको पाइएको छ। नगरपालिकाका खानेपानी सहायक टेक्निसीयन यामराज जोशीले प्रयोग गर्ने गरेको भे १ व १२२५ नम्बरको मोटरसाइकल सदरमुकाम वीरेन्द्रनगरमा चाउमिन र पाउरोटी विक्रीमा प्रयोग भएको पाइएको हो।

जोशीको वीरेन्द्रनगरमा पाउरोटी र चाउमिन उद्योग छ। जनताको काम सहज र छिटो गराउनका लागि नगरपालिकाले कर्मचारीलाई मोटरसाइकल खरिद गरेर उपलब्ध गराएको हो। दुई महिनाअघि नगरपालिकाले जोशीलाई उक्त मोटरसाइकल उपलब्ध गराएको थियो। स्थानीयका अनुसार मोटरसाइकल पाएदेखि उनले सरकारी काममा प्रयोग गरेका छैनन्। 

‘बिहान–बेलुका उद्योगको चाउमिन र पाउरोटी विक्री गर्ने तथा दिउँसोको समयमा आफन्तलाई मोटरसाइकल सिकाउने काम गरेको देखिन्छ’ एक स्थानीयले भने, ‘सरकारी मोटरसाइकल यसरी दुरुपयोग हुँदा पनि कसैले चासो दिएको देखिँदैन्।’ पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्र थापाले मोटरसाइकल दुरुपयोग भएको बारे आफूलाई जानकारी नभएको बताए।

‘मैले तपाईले भनेपछि मात्रै थाहा पाएँ’ उनले भने, ‘जनताको सेवा–सुविधामा प्रयोग गरिने मोटरसाइकल व्यक्तिगत प्रयोग गरिएको बारे तत्काल स्पष्टिकरण सोधेर कारवाही प्रक्रिया अघाडि बढाउँछु।’ उनले राज्यको सम्पत्ती दुरुपयोग गर्ने अधिकार कसैलाई पनि नभएको भन्दै कसुर अनुसारको कारवाही गरिने प्रतिवद्धता जनाए।

प्रकाशित: १५ भाद्र २०७५ ०७:२३ शुक्रबार

सरकारी_मोटरसाइकलकाे_दुरूपयाेग पञ्चपुरी_नगरपालिका चाउमिन_पाउरोटी