समाज

पप्पु कन्स्ट्रक्नमाथि कारबाही माग

पप्पु कन्ट्रक्सनलाई कारबाहीको माग गर्दै रौतहटमा भएको प्रदर्शन। तस्बिरः मदन/नागरिक

रौतहट - गत शनिबार रौतहटको गौर ४ टिकुलियामा रहेको बकैया नदीमा भएको डुंगा दुर्घटनाको मुख्य दोषी पप्पु कन्स्ट्रक्सन रहेको भन्दै चारैतिरबाट कारबाहीको माग हुन थालेको छ। राजनीतिक दल, नागरिक समाज, पीडित परिवार, सांसद तथा मुख्यमन्त्रीसमेतले पप्पु कन्स्ट्रक्सनको लाहपरबाही दुर्घटनाको मुख्य कारण रहेको हुन सक्ने बताएका छन्।

तीन वर्षमा पुल निर्माण गरिसक्ने ठेक्का लिएको पप्पु कन्स्ट्रक्सनले पाँच वर्षमा पनि निर्माण नसक्दा सर्वसाधारण नदी तर्न डुंगामा जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए। समयमा पुल निर्माण नभएकै कारण दुर्घटना भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा कार्यकर्ताले पप्पु कन्ट्रक्सनलाई कारबाही गर्नुपर्ने माग राख्दै गौर नगरको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका छन् । नेता साहले गौरको टिकुलिया औरैया जोड्ने पुल निर्माण निर्धारित समयमा नगर्दा डुंगा दुर्घटना भएर अनाहकमा स्थानीय बासिन्दाले ज्यान गुमाउनु परेकोमा निजलाई राज्यले आवश्यक कारबाही गर्नुपर्ने माग राख्दै प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र बुझाएका छन्।

नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै टिकुलिया घटनाका मुख्य दोषी निर्माणाधीन पुलका कन्ट्र्याक्टर रहेको भन्दै आवश्यक कारबाही गर्नुपर्ने तथा मृतक र घाईते परिवारलाई उचित राहत दिनसमेत सरकारसँग आग्रह गरेका छन्।

प्रदेश २ का मुख्यमन्त्री शेख लालबाबु राउत गद्दीले दुर्घटनास्थल निरीक्षण गर्दा स्थानीय तथा पीडितपरिवारले दुर्घटनाको मुख्य दोषी पप्पु कन्स्ट्रक्सन नै भएकाले कारबाही गर्नुपर्ने माग गरेका थिए । मुख्यमन्त्री गद्दीले दुर्घटनाको दोषीबारे पत्ता लगाई कारबाही गरिने आश्वासन दिएका छन्।

नागरिक समाज रौतहटका अध्यक्ष जगन्नाथ केशरीले प्रमुख जिल्ला अधिकारीलाई भेटेर समयमा पुल निर्माण सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सन र अनुगमन नगरी लापरबाही गर्ने सडक डिभिजन कार्यालयलाई पनि कारबाहीको माग गरेका छन्। सरकारले तत्काल कारबाही नगरे नागरिक समाज चुप लागेर नबस्ने चेतावनी अध्यक्ष केसरीले दिएका छन्। पुलको निर्माणको सम्बन्धमा रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले सडक डिभिजन कार्यालय र सम्बन्धित अन्य कार्यालयबाट फाइल झिकाएर अध्ययन गर्न थालेको बताएका छन्। जसको लापरबाहीले दुर्घटना भएको भए पनि कानुनको दायरामा ल्याउने प्रजिअ रिजालको भनाइ रहेको छ। बकैया नदीमा पुलको निर्माणको काम गरिरहेको पप्पु कन्स्ट्रक्सनमाथि कारबाहीको माग विभिन्न क्षेत्रबाट आइरहेको प्रजिअ रिजालले स्वीकार गरेका छन्।

यसैबीच सडक डिभिजन कार्यालय हेटौडाद्वारा २० करोड ७२ लाखमा गौर औरैया जोड्ने लालबकैया नदीमा २२५ मिटर लम्बाइ र ७.२ मिटर चौडाइ भएको पक्की पुल बनाउन बोलपत्र आहवान गरेकोमा पप्पु कन्ट्रक्सले लागत इष्टिमेटभन्दा २८ प्रतिशत तल १४ करोड ९३ लाखमा टेण्डर सकार गरेर तिन वर्षभित्र निर्माण कार्य पूरा गर्ने वाचा गर्दै लिखितरूपमा २०७१ असार २९ मा पप्पु कन्ट्रक्सनका प्रोपराइटर हरिनारायण रौनियारले सम्झौता गरेको सडक डिभिजन कार्यालयका प्रमुख सुमन योगेशले जानकारी दिएका छन् । पुल निर्माणको ठेक्का पप्पु कन्ट्रक्सनले पाएपछि तत्कालीन प्रधानमन्त्री शुशिल कोइरालाबाट २०७१ कातिक २९ गते शिलान्यास गराएका थिए। सम्झौताअनुसार २०७४ माघ २९ मा सम्पन्न हुनुपर्ने थियो । समयमा काम सम्पन्न नभएको पप्पु कन्स्ट्रक्सनलाई सडक डिभिजन कार्यालयसे समय समयमा सचेत गराउँदै आएको पनि प्रमुख योगेशले बताएका छन्। समयमा पुल नबन्दा बन्जरहा, औरैया, मठिया, जोकहा, वैरिया, अकोलवा, रामपुर खाप दर्जनौँ गाउँका बासिन्दलाई सदरमुकाम गौर आउन जोखिमपूर्ण डुंगा यात्रा गर्नु बाध्यात्मक अवस्था रहेको छ।

डुंगा सहचालकसहित थप दुईको शव बरामद
शनिवारको डुंगा दुर्घटनामा परेर हराइरहेका ३ जनामध्ये डुंगाको सहचालकसहित दुई जनाको शव सोमबार भारतीय क्षेत्रमा बरामद भएको छ। भारतीय सुरक्षाकर्मी र हराइरहेका आफन्तले निरन्तर खोजतलास गर्दै जाँदा सीमावर्ती क्षेत्र भन्दा १० किलोमिटर दक्षिणमा रहेको शिवहर जिल्लाको खोडिपाकड घाटबाट डुंगाको सहचालक १९ वर्षीय ओमप्रकाश चन्द्रवंशी र १० वर्षीया बालिका उष्माकुमारी पटेलको शव बरामद भएको रौतहटका प्रहरी प्रमुख केदार ढकालले बताएका छन्। बरामद गरिएका दुवैजनाको शव भारतीय सुरक्षा अधिकारीले नेपाली सुरक्षाअधिकारीलाई जिम्मा लगाएपछि दुवैको शव जिल्ला अस्पताल गौरमा पोष्टमार्टम गरेर उनका परिवारजनलाई अन्तिम संस्कारको लागि जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

दुर्घटनामा हराइरहेका तीनमध्ये दुईजनाको शव बरामद भएपछि एकजना अझै बेपत्ता रहेका छन्। बेपत्ता हुनेमा ४० वर्षीया इन्दुदेवी पटेल छिन् । उनको खोजी कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताएका छन्।

पीडितलाई विभिन्न क्षेत्रबाट राहत
शनिवार दुर्घटनामा परेका पीडितलाई विभिन्न क्षेत्रबाट राहत उपलब्ध गराइन थालिएको छ । सोमबार प्रदेश २ सरकारको तर्फबाट मुख्यमन्त्री लालबाबु राउत गद्दीले मृतकको परिवारलाई जनही २ लाख रुपैयाँ सहयोग र २५ हजार रुपैयाँ किरिया खर्च उपलब्ध गराउने घोषणा गरेका छन्। दुर्घटनाका घाइतेलाई उपचार खर्च जनही २५ हजार रुपैयाँ उपलब्ध गराउने सरकारले घोषणा गरेको छ। रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले मृतक परिवारलाई जनही एक लाख रुपैया उपलब्ध गराएका छन्। यसैगरी गौर नगरपालिकाले पनि मृतक परिवारलाई जनही १ लाख रुपैयाँ सहयोग दिने घोषणा गरेको छ। साथै नगरपालिकाले किरिया खर्च जनही २५ हजार उपलब्ध गराएको नगरपालिकाकी उपमेयर किरण ठाकुरले बताइन्।

यसैबीच संघीय सांसद तथा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य अनिलकुमार झाले मृतक परिवारलाई जनही २५ हजार रुपैयाँ सहयोग गराएका छन्। यसैगरी इशनाथ नगरपालिकाबाट मृतक रुनादेवी पटेलको परिवारलाई किरिया खर्चवापत ५० हजार रुपैयाँ उपलब्ध गराइएको मेयर सन्तोष मेहताले जानकारी दिएका छन्।

 

प्रकाशित: १२ भाद्र २०७५ ०२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App