समाज

एक महिनापछि निर्मला गृहकार्य गर्न गएकै घरबाट अनुसन्धान सुरु

निर्मला पन्त यही घरमा पढ्न आएकी थिइन् । तस्बिर: दिलबहादुर छत्याल

उल्टाखाम(कंचनपुर)-  निर्मला पन्त हराएपछि उनकी आमा दुर्गा देवी थापा लगायतका गाउँलेले साउन १० गते साँझ नै निर्मला बेपत्ता भएको रोशनी बमको घरमा खोजी दिन प्रहरीलाई पटक पटक आग्रह गरे। प्रहरी चौकीदेखि जिल्ला प्रहरी कार्यालयसम्म फोनबाट खबर गर्दा पनि प्रहरी खोजीमा नआएपछि आमा दुर्गादेवी ६ जना छिमेकी सहित नजिकैको प्रहरी चौकीमा गईन। रोशनीको घरमा गएकी छोरी घर फर्केकी छैन, त्यहि घरमा भएको शंका लागेको छ भन्दै प्रहरीलाई खोजीदिन उनले गरेको अनुनय बिनय प्रहरीले मानिदिएन।‘मलाई त्यही घरमा छोरी छ कि भनेर शंका लागेकोले प्रहरीलाई खानतलास गरिदिन चौकीमै गएर भनेकी हुँ, प्रहरीले माथीको आदेश छैन भन्दै खोजीदिन मानेन्’आमा दुर्गादेवी पन्तले भनिन्,–‘त्यो राती घरमा छोरीको खानतलास गरेको भए सास नभएपनि लास भेट्टिछ छ कि भन्ने लागेर राती २ बजेसम्म प्रहरी चौकीमा कुरेर अनेक बिन्ती गरेकी थिए।’ 

बलात्कार पछि हत्या भएको एक महिनामा नयाँ प्रहरी अधिकारी र प्रमुख जिल्ला अधिकारीले शून्यबाट अनुसन्धान शुरु गरेका छन। उनीहरुले शुक्रबार साँझ अदालतको अनुमती लिएर रोशनी बम र वविता बमलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेका छन्।

त्यो दिन बिहानै सीमावर्ती भारतीय बजार बनवासा गएकी दुर्गादेवी दिउँसो १ बजे घर फर्केकी थिइन्। निर्मला साथीको घरमा गएको उनले जेठी छोरी मनिषावाट थाहा पाइन्। बिहानै गएकी छोरी नफर्केपछि साँझतिर १३ सय मिटर दुरीमा रहेको रोशनीको घरमा पुगिन्। साँझ सम्म छोरी नआएको झोकमा घरवाहिर बाटै निर्मला काँहा गई बाहिर निकाल भनेर अलि चर्को स्वरमा उनले भनिन्।  ‘रोशनीकी दिदी बविता बमले अघि नै यहाँबाट गएकी तिम्रो छोरी पोइल गई, काहाँ गई भनेर खरो जवाफ फर्काई’ दुर्गाले भनिन्,‘दोश्रो पटक छिमेकी लक्ष्मी भट्ट जाँदा पनि पटक पटक मेरो घरमा किन आउँछेस् भनेर धम्काएपछि घरमा पस्न सकेन।’ दुईतले घरमा रोशनी बम र उसको दिदी बविता बम मात्र बस्थे। उनका आमाबुबा दार्चुला र दाजुभाई बाँकेको कोहलपुर बस्ने गर्थे। दोश्रो दिन बिहान स्थानीय बमको घरमा जाँदा साइकल खोलामा फेला परेको हल्ला थियो। वविता बमले साईकल जाँहा छ त्यहि लास पनि होला भनेको उनी बताउँछिन। बविता बमको कुराबाट थप शसंकित भएका निर्मलाका आफन्त र स्थानीय वेपत्ता भएको त्यही घरबाट अनुसन्धान शुरु गर्न प्रहरीलाई आग्रह गरेका थिए। प्रहरीले त्यही घरबाट अनुसन्धान शुरु गर्नुको सट्टा उल्टै निर्मलाका वुवालाई अनुसन्धान नगर्दै बम दिदीबहिनीको घरमा नभएको भन्दै प्रष्टीकरण दिएपछि प्रहरीको भूमिकामाथी शंका लागेर स्थानीयले साउन ११ गतेदेखि नै प्रदर्शन शुरु गरे।

‘मेरो छोरी बेपत्ता भएको घरबाट  अनुसन्धान शुरु गरिदिनु पर्यो भनेर पटक पटक भन्दा पनि एसपी डिल्ली बिष्टको प्रहरी टोलीले मानेन्’ निर्मलाका वुवा यज्ञराज पन्तले भने। प्रहरी प्रमुख एसपी डिल्ली बिष्टले बम दिदी बहिनीबाट अनुसन्धान नगरेकै कारण सशंकित रहेका स्थानीयको प्रदर्शन चर्किएर एक जनाको ज्यान जाने र कयौं घाइते हुने अवस्थासम्म पुगकोछ।

निर्मला हराएकै घरबाट अनुसन्धान सुरु

भदौ १० गते आइतबार निर्मलाको हत्या भएको एक महिना पुग्छ। आन्दोलन चर्किएर प्रमुख जिल्ला अधिकारी कुमार खड्का, प्रहरी उपरीक्षक डिल्ली बिष्ट, प्रहरी नायव उपरीक्ष ज्ञान बहादुर सेठी लगायतको टोली बदलेर गृहमन्त्रालयले पठाएको नयाँ प्रजिअ र प्रहरी प्रमुख पठाएको छ। बलात्कार पछि हत्या भएको एक महिनामा नयाँ प्रहरी अधिकारी र प्रमुख जिल्ला अधिकारीले शून्यबाट अनुसन्धान शुरु गरेका छन। उनीहरुले शुक्रबार साँझ अदालतको अनुमती लिएर रोशनी बम र वविता बमलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेका छन्। घटना यहीँबाट सुरु भएको थियो। निर्मला बम दिदी बहिनीको घर गएबाटै हराएकी थिइन् र उनको शब उखुबारीमा भेटिएको थियो।

अदालतको पूर्जी लिएर रोशनी बम र बविता बमलाई शुक्रवार साँझ पक्राउ गरेको कंचनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए।

‘हामीले शून्यबाटै अनुसन्धान शुरु गरेका छौं’कंचनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले भने,‘एक महिना पहिले शुरु गरिनुपर्ने शून्य ठाउँबाट हामीले अनुसन्धान शूरु गरेका छौं, अनुसन्धानका क्रममा संलग्न सानोदेखि ठूलासम्म सबैलाई कारबाहीको दायरामा ल्याएर छोड्छौं।’

निर्मला पन्त बेपत्ता भएको घरबाट अनुसन्धान शुरु गर्नुपर्ने स्थानीयको जायज मागमा वेवास्था गरेकोले १ महिना लामो आन्दोलन लगायतको क्षती भोग्नुपर्ने अवस्था आएको उनी स्विकार्छन्। ‘दोषी हुने नहुने कुरा अनुसन्धानबाट खुल्ने कुरा हो, अहिले हामीले शुरु गरेको अनुसन्धान शुरुबाटै गरिनुपथ्यो’ उनी भन्छन्। निर्मला पन्तको हत्या प्रकरणमा अनुसन्धानमा स्थानीयले गरेको अविश्वास र आन्दोलनले सरकारकै विश्वसनियता माथी प्रश्न उठेको उनी बताउँछन। ‘सरकारको विश्वसनीयता माथी प्रश्न उठाउने तवरले कसैले काम गरेको भए जोकोही भएपनि अनुसन्धान गरेर निलम्वनसम्मको कारबाही गरिन्छ’उनले भने। प्रहरीसँग भएका अत्याधुनिक सवै प्रविधी, उपकरण र क्षमता प्रयोग गरेर  इमान्दार, निष्पक्ष र व्यवसायीक रुपमा दोषी पत्ता लगाउन प्रयास गरिने उनले बताए।

निष्पक्ष असुसन्धान सुरुमै नहुँदा क्षती

 साउन ११ गतेदेखि एक महिनासम्म महेन्द्रनगरमा भएको प्रदर्शन, बन्द, हड्ताल गोली लागेर किशोर शनि खुनाको ज्यान जाने र कयौं घाइते हुने अवस्थासम्म पुगेको छ। यसको कारण नै निर्मलाका आफन्त र स्थानीयले शंका गरेको रोशनी बमको घरबाट र दिदीबहिनीलाई केरकार नगर्नुको मुख्य कारण थियो। ‘मेरो छोरीको शव पाएकै दिनदेखि पटक पटक मैले आग्रह गरेको बम दिदी बहिनी माथी अनुसन्धान गरिदिनु पर्यो भन्ने कुरा एक महिना पछि मानेको छ’निर्मलाका वुवा यज्ञराज पन्तले भने,‘यहि अनुसन्धान शुरुबाट गरिदिएको भए हामीलाई यती पीडा पनि हुन्थेन, १ महिनासम्म आन्दोलन र ज्यान पनि गुम्थेन।’

बम दिदी बहिनीलाई अनुसन्धान गर्दा त्यो घरमा को आएको थियो भनेर पत्ता लाग्ने आशा जागेको आमा दुर्गाथापाले बताइन्।‘ दिदी बहिनीले मेरो छोरी मार्यो भनेको होइन्, उनीहरुलाई त्यो घरमा को आयो र छोरी कसले मार्यो भन्ने थाहा हुनसक्छ’ उनले भनिन्, ‘हामीले पहिलो दिनबाट भनेको कुरा अहिले पुरा भएको छ, सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गरियोस।’ बमको घरमा एसपी डिल्ली बिष्ट र उसको छोरा आइराख्ने गरेको सुनेको उनी बताउँछिन्।

निर्मला बेपत्ता भएको घरबाट अनुसन्धान शुरु गर्नुपर्छ भन्ने हाम्रो माग पुरा गर्न पनि एक जनाले ज्यान गुमाउनु परेको स्थानीय सन्तोष कुमार भट्ट बताउँछन्।‘ प्रहरीले शुरुमै शंका लागेको ठाउँबाट अनुसन्धान गरिदिएको भए महेन्द्रनगरवासीले यती दुःख पाउँनदैनथे’उनले भने।

पहिलो दिनदेखि निर्मलाको खोजीमा लागेका छिमेकी तथा भुतपूर्व सैनिक मोती बहादुर नेपाल अहिले प्रहरीले थालेको अनुसन्धान साउन ११ गते शुरु गर्नुभन्दा प्रहरीले थर्कोएको बताउँछन्।‘मैले त्यही दिन बमको घरबाट रोशनी गएको दिशा खुल्दैन, यहि घरबाट अनुसन्धान गनुपर्छ भन्दा प्रहरीले थर्काउने काम गर्यो’उनले भने,‘अहिले त प्रहरीले दिदी बहिनीलाई पक्राउ गरेर अनुसन्धान गर्यो, यहि कुरा त्यतीबेला गरेको भए यती ठूलो क्षती हुने थिएन।’ शान्तीपूर्ण आन्दोलन साढे ३ सातासम्म गर्दा पनि प्रहरी प्रशासनले स्थानीयको कुरा सुनेको नसुनेई गरि अनुसन्धान नगरेको अधिकारकर्मी उर्मीला शाही बताउँछिन।‘हामीले आन्दोलन गर्दा पनि प्रहरीको घटना ढाकछोप गरेर दोषी उम्काउनमै जोड गयो’ उनले भनिन्,‘प्रहरीले आफै गर्नुपर्ने अनुसन्धानका लागि पनि एक महिना लामो आन्दोलन, एक जनाले शहिद र कयौले घाइते हुने अवस्था आयो।’ सुदुरपश्चिम विश्वविद्यालयका प्राध्यापक डा. मुकन्द प्रसाद कलौनी एक महिनासम्मको आन्दोलनले बजार, शिक्षणसंस्था, यतायात बन्दले करोडौंको क्षती, अमुल्य ज्यान गएको र कयौ अंगभंग हुने अवस्था प्रहरीले अनुसन्धान शुरु नगरिदिएकोले भएको बताउँछन्। प्रहरी मात्र नभई राजनीतिक दल नेताले पनि प्रहरीको गलत व्यवहारलाई संरक्षण दिएको उनको भनाई छ। ‘नेताहरुले गरेका गलत काम प्रहरीले संरक्षण दिने र प्रहरीलाई नेताले संरक्षण दिने अवस्थाले तै चुप मै चुपका कारण जघन्य अपराधको अनुसन्धानका लागि महिना दिनसम्म जनताले आन्दोलन गर्ने अवस्था आएको हो’उनी भन्छन,‘यो हाम्रो देशका लागि चिन्ताको बिषय हो, त्यही भएर भ्रष्टाचारी, बलत्कारी र अपराधीले उन्मुक्ती पाइरहेका छन।’

रोशनी बम र उनको दिदी बविता बम निर्दोष भएपनि अनुसन्धान नै गर्न नमान्ने यस अघिका प्रहरीको व्यवहारले स्थानीय आक्रोशित थिए। अनुसन्धान गरिरहेका छौं भनेर भनिरहेको प्रहरीले नक्कली विवरण संकलन गरेर मानसिक सन्तुलन गुमाएका दिलिप सिंह बिष्टलाई दोषी करार गर्न खोजेपछि मंललवारदेखि आन्दोलन चर्केको थियो। रोशनी बम र उनको दिदीले निर्मला दिउँसो सवा २ बजे नै घरबाट गएको बताएका छन। ‘दिउँसो सवा २ बजे विज्ञानको गृहकार्य गरेर निर्मला घरबाट गएकी हो’ रोशनीले भनिन्,‘त्यसपछि काहाँ गई के भो, हामीलाई थाहा छैन।’

उच्च स्तरीय समिति गठन गर्न माग

 प्रदेश ७ का नेकपाका शीर्ष नेता तथा स्थायी कमिटी सदस्य लेखराज भट्टले पनि एक प्रेस बिज्ञप्ती  प्रकाशित गर्दै पटक पटक घटनाको संवेदनशिलताका बारेमा अवगत गराउदाँ पनि सरकारले उदासिनता देखाएकाले घटना कठिन मोडमा पुगको बताएका छन।‘ घटनालाई संवेदनशिल रुपमा लिई अनुसन्धान र कारवाही गर्न माग गर्दा पनि राज्यका तर्फबाट सुरक्षा स्थिती मजबुत पार्न र घटनाको निष्पक्षा छानविन गर्ने दिशामा गंभिरता देखाउन नसक्दा अहिले घटनाले अनपेक्षित मोड लिएको छ’उनले बिज्ञप्तीमा भनेका छन्। हत्याकाण्डको भरपर्दो अनुसन्धान गरियोस र दोषीलाई कारवाही होस भन्ने  माग सहितको जनताको शान्तीपूर्ण र न्यायीक आन्दोलनमा समर्थन रहेको उल्लेख गर्दै प्रदर्शनमा अनावश्यक वल प्रयोग भएको बताएका छन।

 उनले गृहमन्त्रालय अन्तर्गतको छानविन समितीले पनि छानविन गर्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै उच्च स्तरीय स्वतन्त्र न्यायीक छानविन समिती गठन गर्न माग गरेका छन्। महेन्द्रनगरमा गोली चलेपछि बिहीवार गृहमन्त्रालयले मन्त्रालयका सहसचिव हरि प्रसाद मैनालीको संयोजकत्वमा ५ सदस्यीस छानबिन समिती गठन गरेको छ।

 

 

 

 

 

प्रकाशित: ९ भाद्र २०७५ १३:४६ शनिबार

निर्मला_पन्त कञ्चनपुर हत्या बलात्कार