समाज

जुम्ल्याहा छोरी सेफ्टी ट्याङकीमा हालेर आमा फरार, एकको मृत्यु

ताप्लेजुङ– ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नम्बर २ थेचम्बुको तलेवारीकी एक महिलाले बर्षदिन पनि नपुगेका आफ्ना जुम्ल्याहा छोरीलाई सेफ्टी ट्याङ्कीमा हालेर फरार भएकी छिन्। सेफ्टी ट्याङकीमा निसासिएर एक बालिकाको मृत्यु भएको छ भने एकको अवस्था गम्भीर छ।

प्रहरीका अनुसार २० बर्षीया कमला बिकले छोरीलाई सेफ्टी ट्याङ्कीमा हालेर फरार भएकी हुन्। सेफ्टी ट्याङ्कीमा हालेका दिदीबहिनी गंगा र जमुनामध्ये गंगाको मृत्यु भएको छ भने गंगालाई गम्भीर अवस्थामा फेला पारिएपछि उपचारका लागि झापाको बिर्तामोडतर्फ पठाइएको छ। 

ताप्लेजुङका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले गाउँलेले थाहा पाएर खोजी गर्ने क्रममा बच्चाको अवस्था फेला परेको जानकारी दिए। बस्नेतका अनुसार मृत भेटिएकी र गम्भीर अवस्थामा रहेकी दुबै बच्चाको शरीरमा निलडाम र चोटपटक देखिएको छ। प्रहरीले बच्चालाई सेफ्टी ट्याङ्कीमा लगाउनु पूर्व आमाले कुटपिट समेत गरेको हुनसक्ने अनुमान गरेको छ।

फरार रहेकी कमलाको खोजी कार्य जारी रहेको छ। मृत्यु भएकी बालिकालाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान थालिएको डीएसपी बस्नेतले जानकारी दिए।

प्रकाशित: ३० श्रावण २०७५ १५:३० बुधबार

ताप्लेजुङ जुम्ल्याहा छाेरी अामा