समाज

असार ३२ गतेदेखि दुई बालिका बेपत्ता

खोटाङ – खोटाङमा एकैसाथ दुई बालिका बेपत्ता भएका छन्। गत असार ३२ गते रातिदेखि खोटेहाङ गाउँपालिका–८ सिमपानीस्थित कात्तिकेकी १३ वर्षीया अनिता श्रेष्ठ र १५ वर्षीया सपना तामाङ बेपत्ता भएका हुन्। 

स्थानीय पञ्चायत रजतजयन्ती आधारभुत बिद्यालयमा कक्षा ५ मा अध्ययनरत सपना र कक्षा ३ मा अध्ययनरत अनिताको खोजी भइरहेको भएपनि हालसम्म कुनै पत्ता नपरेको आफन्तले बताएका छन्। बेलुका खाना खाएर सुतेकी अनिता र सपना रातिबाटै सम्पर्क बिहिन बनेको सपनाकी दिदी सबिना तामाङले बताइन्। 

दुई बालिका आफै सम्पर्क बिहिन बनेको वा कसैले प्रलोभनमा पारेर बेपत्ता बनाएको हो भन्ने खुल्न सकेको छैन। आफन्त र सम्भावित ठाउँमा खोजी पर्दा पनि बालिका फेला नपरेपछि परिवारमा रुवाबासी चलेको छ। बालिका बेपत्ता भएको बिषयमा जानकारी नआएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए। 

बेपत्ता बालिकाको खोजीका लागि जिल्ला प्रहरी कार्यालय गाईघाटलाई जानकारी गराएको आफन्तले जिल्ला प्रहरी कार्यालय खोटाङमा समेत हुलिया दिने तयारी गरेका छन्।

प्रकाशित: १२ श्रावण २०७५ ०६:०४ शनिबार

३२ गतेदेखि दुई बालिका बेपत्ता