समाज

डा. केसीका मागप्रति गम्भीर बन्न कर्णालीका नागरिक अगुवाको आग्रह

सुर्खेत- चिकित्सा शिक्षा सुधारको माग गर्दै २६ दिनदेखि अनसनरत डा. गोविन्द केसीको मागप्रति गम्भीर बन्न कर्णालीका नागरिक अगुवाहरुले सरकारलाई आग्रह गरेका छन्। उनीहरुले डा. केसीको अनसनप्रति आम कर्णालीवासीको समर्थन रहेको बताउँदै समाजवादी भनिएको सरकारको दृष्ट्रीकोण र नीति पूर्णतः गलत दिशातर्फ उन्मुख रहेको बताएका छन्।

‘डा. गोविन्द केसी कुनै राजनीतिक दलको रुपमा नभई एउटा सचेत नागरिकको हैसियतले जनताका साझा मुद्दामा आमरण अनसन बस्नु भएको हो’ बुधबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा नागरिक अगुवा एवम् नेपाल चिकित्सक संघ सुर्खेतका अध्यक्ष डा. नवराज केसीले भने, ‘माग पूरा गर्नुको साटो उच्च आदर्श बोकेका एक सम्मानित नागरिकको तेजोबध गर्न राज्य उद्दत हुनु गम्भीर विषय हो ।’ उनले डा. केसीका माग जायज भएकाले पूरागर्नेतर्फ सरकारले अग्रसरता लिनुपर्ने बताए।

उनले समग्र देशको शिक्षा र स्वास्थ्य क्षेत्र पूर्णरुपमा राज्यको दायित्वभित्र ल्याइनुपर्ने बताए । ‘अहिले कर्णालीमा झाडापखालाले गम्भीर भएका विरामी बचाउनका लागि हेलिकोप्टर चार्टड गर्नुपर्ने बाध्यता हामीसँग छ’ उनले भने, ‘डा. केसीले राखेका माग पूरा भए यस्ता बाध्यता समाधान हुन्छन् ।’ उनले नेताहरु सामान्य विरामी हुँदा नेपाली अस्पताल र चिकित्सकहरुको भर नपरेर विदेशमा जाने गरेको र आम नेपालीले सानो विमार पर्दा घर–घडेरी नै विक्री गर्नुपर्ने अहिलेको अवस्था अन्त्यका लागि पनि केसीको माग सम्बोधन गर्नु आवश्यक रहेको बताए।

नागरिक अगुवा गेहेन्द्रप्रसाद दहालले राजनीतिक आस्था र विचार भन्दामाथि उठेर देश र जनताका लागि सोच्नुपर्ने बेला आएको बताए । ‘डा. केसीको अनसन र उनले राखेका मागहरुमा राजनीतिक मिसाउन खोजिएको छ’ उनले भने, ‘राजनीतिक आस्था र विचारभन्दा माथि उठेर हामीले नागरिक समाजकातर्फबाट डा. केसीको अनसन र मागप्रति कर्णालीबासीका तर्फबाट ऐक्यवद्धता जनाउँदछौं ।’ उनले माथेमा प्रतिवेदनको भावना विपरित प्रतिविम्वित हुने गरेर कुनै पनि नयाँ कानुनको मस्यौदा नल्याउन सरकारसँग आग्रह पनि गरे।

‘सरकार आफैले जिम्मेवारी बोध गरेर गरिव जनता र पिछडिएको क्षेत्रको पहुँचमा अस्पताल तथा मेडिकल कलेज स्थापना गर्नुपर्नेमा काठमाडौं केन्द्रीत हुनु संघीयताको मर्म विपरित हो’ उनले भने, ‘राज्यले स्वविवेकले गर्नुपर्ने काममा एक जना निष्ठावान नागरिकले ज्यानकै बाजी लगाउनु पर्ने अवस्था आउनु अत्यन्तै दुःखद् विषय हो।’

नागरिक अगुवा प्रचण्डकुमार पोखरेलले माग सम्बोधन गर्नेतर्फ राज्य उदासिन रहेको बताउँदै डा. केसीको अवस्था तलमाथि भएको खण्डमा सम्पूर्ण दोष प्रधानमन्त्री केपी शर्मा ओली र सरकारले बोक्नुपर्ने पर्ने बताए । ‘आम नागरिकको स्वास्थ्यसँगै जोडिएको चिकित्सा शिक्षाका बारेमा समाजवादी भनिएको सरकारको दृष्ट्रिकोण र नीति पूर्णतः गलत दिशातर्फ उन्मुख छ’ उनले भने, ‘त्यसमाथि प्रधानमन्त्री ओलीले प्रदर्शन गरेको हठ र अभिव्यक्ति अत्यन्तै खेदजनक छन् ।’ उनले निजी क्षेत्रलाई शिक्षा र स्वास्थ्य क्षेत्रबाहेक अन्य क्षेत्रमा लगानी गर्न आग्रह गरे।

प्रकाशित: ९ श्रावण २०७५ ०७:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App