समाज

‘मन्त्रीले राजीनामा दिए, प्रसाईंलाई पनि कारबाही हुुनुपर्छ’

काठमाडौं - बंगलादेशमा मेडिकल शिक्षा अध्ययनरत छात्राहरुले प्रमाणपत्र पाउनका लागि कतै न कतै आफूलाई बेचेकै हुन्छन भन्ने विवादित अभिव्यक्ति दिएपछि चौतर्फी आचोलना खेपेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले मंगलबार पदबाट राजीनामा दिएका छन्।

मन्त्रीको राजीनामाको सूचनाले बंगलादेशमा अध्ययनरत छात्राले सन्तोषको सास फेरे पनि पनि अर्का विवादित अभिव्यक्ति दिने अर्का मुख्य दोषी दुर्गा प्रसाईंलाई सरकारले कुनै काराबाही गर्न नसकेकोमा आक्रोसित छन । झापाको बिएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले बंगलादेशमा मेडिकल शिक्षा अध्ययनरत नेपाली छात्राहरुले शैक्षिक योग्यताको प्रमाणपत्र लिनका लागि शिक्षकहरुसँग शारीरिक सम्बन्ध राख्ने गरेको अभिव्यक्ति दिएका हुन्।

प्रसाईंले पत्रकार सम्मेलनमा बोल्दै पाँचवर्षे मेडिकल कोर्स गर्न बंगलादेशमा ७ देखि ८ वर्ष लगाउनुमा छात्रा र शिक्षकको शारीरिक सम्बन्ध कारक भएको अभिव्यक्त कुनै पनि अवस्थामा क्षमायोग्य नभएको ढाका विश्वविद्यालयकी छात्रा मेघा खत्रीले बताइन । ‘नेपाली छोरीचेलीहरुको अस्मितामाथि नै दाग लाग्ने गरी प्रसाईंले दिएको अभिव्यक्तिले यहाँ हाम्रा शिक्षकहरुसमेत दुःखित बन्नु भएको छ,’ डेन्टलकी छात्रा मेघाले नागरिक कुरा गर्दै भनिन, ‘सरकारले प्रसाईंलाई कडा काराबही गर्नुपर्ने हाम्रो माग हो ।’ उनले दुर्गा प्रसार्इंले कुन आधारमा बंगलादेशमा अध्ययनरत नेपाली छात्राहरुको चरित्र हत्या गर्ने अभिव्यक्ति दिएका हुन त्यसको प्रमाण पेश गर्नुपर्ने माग गरिन।

ढाका विश्वविद्यालयकी शीर्ष छात्रा जेनिया राईले नेपालका व्यवसायी र मन्त्री जस्ता जिम्मेवार व्यक्तिहरुका गैरजिम्मेवार अभिव्यक्तिले समाजिक मानमर्दन भएको र सम्पूर्ण नेपाली छात्राहरुलाई चोट पुगेको बताइन । उनले जिम्मेवार व्यक्तिको गैरजिम्मेवार र निन्दनीय कुराले निर्दोष छात्राहरुको मात्र नभई अभिभावक तथा परिवारकै समाजिक प्रतिष्ठामा आँच पुगेको सुनाइन।

‘राज्यको उच्च ओहोदाका व्यक्तीहरुले नै नेपाली चेलीहरुको अस्मितामाथि आँच आउने अभिव्यक्ति दिँदा समेत राज्यको आधिकारीक धारणा किन नआएको हो,’ उनले प्रश्न गरिन, ‘सरकारले व्यवासायी दुर्गा प्रसाईंलाई किन कानुनको दायराभित्र ल्याउन नसकेको ?’ नेपालमा मेडिकल शिक्षामा सीमित सिट र अध्ययनको वातावरण नबनेपछि आपूmहरु मेडिकल पढन बंगलादेश आउन बाध्य हुनु परेको बताउँदै छात्रा श्वेता शर्माले नारी अस्मिता माथि प्रहार गर्ने व्यवासयी दुर्गा प्रसाईंमाथि सरकारले कारबाही नगरे विद्यार्थीले नै कारबाही गर्ने बताइन ।

नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसन, बंगादेशका अध्यक्ष नवीन यादव अहिले नेपालमै छन र उनी दुर्गा प्रसार्इंलाई कडा काराबहीको माग गरिरहेका छन । ‘कानुन मन्त्रीले राजीनामा दिए तर दुर्गा प्रसार्इंलाई अझै कारबाही हुन सकेको छैन,’ अध्यक्ष यादवले भने, ‘गलत टिप्णी गर्ने दुर्गा प्रसार्इं र कानुन मन्त्री तामाङमाथि सरकारले तत्काल मुद्दा चलाउनु पर्छ,’ उनले माग गरे, ‘बंगलादेशमा हुने अध्ययनअध्यापन बारे सरकारको आधिकारिक धारणा तत्काल सार्वजनिक हुनुपर्छ ।’ हाल बंगालदेशमा ४ हजार विद्यार्थी अध्ययनरत छन जसमा ५० प्रतिशत छात्रा छन ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य डिला संग्रौलाले कानुन मन्त्री तामाङले राजीनामा दिए पनि मुख्य दोषी दुर्गा प्रसार्इंलाई सरकारले अझै कुनै कारबाही नगरेकोमा दुःख व्यक्त गरिन । उनले बिनाप्रमाण व्यवासयी प्रसार्इंले दिएको यस्तो अभिव्यक्तिको आधार पुष्टी गर्न चुनौती दिएकी छिन ।

प्रसाईंको यो भनाइले बंगलादेशमा चिकित्सा शिक्षा पढन जाने चेलीहरुका बारे नकारात्मक सन्देश प्रवाह भएको छ । ‘व्यवसायी दुर्गा प्रसार्इंलाई सरकारले जेल हाल्नुपर्छ,’ उनले माग गरिन, ‘साउन ११ गते बस्ने सदनमा म आफैं यस विषयमा आवाज उठाउँछु । सरकारले तत्काल कारबाही नगरे हामी महिला सभासदहरु सडक र सदन दुवै तताउने छौं । यसको सामना गर्न सरकार तयारी हुनुपर्छ ।’

 

प्रकाशित: ९ श्रावण २०७५ ०१:५६ बुधबार

मन्त्रीले राजीनामा दिए प्रसाईंलाई कारबाही हुुनुपर्छ