समाज

झापाका महिला अधिकारकर्मीद्वारा प्रसाईलाई कारबाहीको माग

दुर्गा प्रसाई

दमक – झापाका महिला अधिकारकर्मीहरूले बिएन्डसी अस्पताल बिर्तामोडका संचालक दुर्गा प्रसाईको अभिव्यक्तिको विरोध गरेका छन्। नेपाल महिला संघले प्रसाईलाई कारबाहीको माग सहित अस्पतालमा कालो झन्डा गाडेका छन्।

प्रसाईले एमबीबीएस पढ्न बंगलादेश जाने विद्यार्थीका विषयमा सार्वजनिक रुपमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै महिलाहरूले विरोध जनाएका हुन्। नेपाली नारीको अस्मितामा आँच आउने गरी प्रसाईले बिना आधार तथ्यहिन अभिव्यक्ति दिएको उनीहरूको ठहर छ।

नेपाल महिला संघले प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ज्ञापनपत्र बुझाउदै प्रसाईलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्। प्रसाईले बंगलादेशमा एमबिबिएस पढ्न गएका नेपाली विद्यार्थीहरू ९ वर्षसम्म बस्ने र त्यहाँ उनीहरूको प्रोफेसरहरुबाट अस्मिता लुटिने विवादास्पद अभिव्यक्ति दिएका थिए।

यस्तै झापाका विभिन्न महिला संघ सम्बन्धित संघ संस्थाहरूले प्रसाईको अभिव्यक्तिको विरोध गरेका छन्। नारी सञ्चार गृह, क्रियाशिल महिला पत्रकार संघ, नेपाल उद्यमशील महिला संघ झापा, उद्यमी महिला संघ झापा, उद्यमी महिला समूह, उ.वा.संघ विर्तामोड, वीरता लेडी जेसीज, बिर्तामोड, राष्ट्रिय सौन्दर्यकर्मी युनियन, र महिला मुक्ति अभियानले प्रसाईलाई कारबाहीको माग गर्दै बिज्ञप्ती जारी गरेका छन्।

अस्पतालका कार्यकारी निर्देशक प्रसाईले बंगलादेशमा पढ्न गएका नेपाली छात्राहरूले करणीपछि मात्र डा. को सर्टिफिकेट पाउँछन् भनेर दिएको अभिव्यक्तिले गम्भीर ध्यानाकर्षण भएको यी संस्थाको ठहर छ। 

प्रकाशित: ८ श्रावण २०७५ ०६:४५ मंगलबार

झापाका महिला अधिकारकर्मीद्वारा प्रसाईलाई कारबाहीको माग