समाज

घाइते प्रहरी जवानलाई नेपालगन्ज ल्याइयो, अवस्था गम्भीर

नेपालगन्ज - गोली लागेर जुम्लामा घाइते भएका प्रहरी जवान कमल उपाध्यायलाई थप उपचारका लागि नेपालगन्ज ल्याइएको छ। उनलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको आईसियुमा भर्ना गरेर उपचार थालिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेकबहादुर तामाङले जानकारी दिए। 

अस्पताल स्रोतका अनुसार घाइते उपाध्यायको अवस्था गम्भिर छ । शरिरमा लागेको गोली निकाल्न नसक्दा अवस्था गम्भीर बन्दै गएको अस्पतालका चिकित्सकलाई उद्धृत गर्दै एसपी तामाङले बताए । ‘शिक्षण अस्पतालमा भर्ना गरिएको छ, यहाँपनि उपचार हुन सम्भव छैन,’ उनले भने, ‘आज अबेला भएको हुँदा हेलिकप्टरले काठमाडौं लैजान सकेन।’ 

घाइते उपाध्यायलाई हेलिकप्टरमार्फत बिहीबार बेलुका नेपालगन्ज ल्याइएको हो । हेलिकप्टरमार्फत बिहीबार नै काठमाडौं लैजाने प्रयास भएपनि रात परेकाले सम्भव नभएको बाँके प्रहरीले जनाएको छ । अस्पताल स्रोतका अनुसार नेपालगन्जमा पनि उनको उपचार गर्न सम्भव नभएको जवाफ चिकित्सकले दिइसकेका छन् । घटनाका घाईतेको विषयमा प्रहरी अधिकारीले विस्तृत कुरा बताउन सकेका छैनन्। 

 

प्रकाशित: ३ श्रावण २०७५ १६:१३ बिहीबार

घाइते प्रहरी जवानलाई नेपालगन्ज ल्याइयो अवस्था गम्भीर