समाज

वडाध्यक्षलाई मोटरसाइकल र कर्मचारीलाई दिवा खाजा

रम्भा गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भण्डारी पत्रकार सम्मेलनमा।    तस्बिरः मुक्ति/नागरिक

पाल्पा – पाल्पाको रम्भा गाउँपालिकाले चालू आर्थिक वर्ष २०७५–०७६ मा सबै वडा अध्यक्षलाई मोटरसाइकल र कर्मचारीलाई दिवा खाजा उपलब्ध गराउने निर्णय गरेको छ। गाउँपालिकाको दोस्रो गाउँसभाले जिल्लामै सबैभन्दा बढी चालू खर्च ५ करोड ५६ लाख बजेट विनियोजन गर्दै गाउँसभा सम्पन्न गरेको हो। 

प्रस्तावित नीति, बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भण्डारीले सबै वडाका सडकमा बाह्रै महिना बस सञ्चालन हुनेगरी सडकको स्तरोन्नति गरिने बताए। उनी भन्छन्, ‘कर्मचारीलाई रम्भा गाउँपालिकामा आकर्षित गर्न कर्मचारी दिवा खाजा कार्यक्रम सञ्चालन गर्न १५ लाख बजेट विनियोजन गरेका छौं।’

यहाँको कार्यालयको अवस्था नाजुक रहेको र कर्मचारीलाई बस्नका लागि समेत राम्रो प्रबन्ध नभएकोले कर्मचारी आउन नमान्ने र आएका कर्मचारी पनि सरुवा मागेर जान थालेपछि कर्मचारी प्रोत्साहन भत्ता (कर्मचारी दिवा खाजा कार्यक्रम) सञ्चालन गरेको अध्यक्ष भण्डारीले बताए। ‘गाउँपालिकामा कच्चि पोल विस्थापन गर्न ५० लाख रकम विनियोजन गरिएको छ।

प्राविधिक शिक्षा गाउँपालिकाको मुख्य कार्यक्रम हो। ल्यावको व्यवस्थापन वडा नं. १ र ३ मा भएको छ,’ भण्डारीले भने, ‘महिला तथा युवाको लागि १५–१५ लाख रुपैयाँ सीपमूलक कार्यक्रमका लागि विनियोजन गरेका छौं। गाउँमै स्वरोजगारमुखी कार्यक्रम चलाउँछौं।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले ३३ करोड १६ लाख २८ हजार बराबरको नीति, बजेट तथा कार्यक्रम पत्रकार सम्मेलन गरेर जानकारी गराए। कुल बजेटको २१ प्रतिशत रकम सडक निर्माण तथा मर्मतका लागि विनियोजन गरिएको हो। महिला स्वयसेविका र विपन्न परिवारको स्वास्थ्य विमाका लागि ७ लाख, सुत्केरी प्रोत्साहन भत्ताका लागि ५ लाख, मृगौला, मुटुरोगी रोगी उपचार सहायतका लागि ६ लाख रुपैयाँ विनियोजन गरिएको छ। बालबालिकालाई विद्यालयमा आकर्षित गर्न विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनका लागि ७ लाख बजेट विनियोजन गरिएको छ।’

गाउँपालिका भित्र रहेको सबै विद्यालयमा अंग्रेजी माध्यममा पढाइको व्यवस्था मिलाइनेछ भने कम्प्युटर कक्षालाई अनिवार्य बनाउने लक्ष्य रहेको छ। बजेट सार्वजनिकीकरण कार्यक्रममा अध्यक्ष भण्डारीले स्वच्छ पिउने पानीको सहजताको लागि एक घर एक धारा अवधारणा अनुसार लिफ्ट खोनपानी र ग्राभिटी खानेपानीका आयोजना सञ्चालन गरिने बताए। उनले आव २०७४–७५ मा पनि चालू तर्फको २ करोड ७२ लाख बजेट खर्च हुन नसकेको र अहिलेका आवमा पनि रकमान्तर गरेर पनि चालूको बजेट पुँजिगतमा लैजाने बताए।

गाउँपालिका पहिले एक वटामात्र मोटरसाइकल रहेकोले सबै वडामा सहज कार्य गर्न १५ लाख रुपैयाँ मोटरसाइकल खरीद गर्न छुट्याइएको भण्डारीले बताए।  पत्रकार सम्मेलनमा पत्रकारहरूले बजेट कर्मचारीमैत्री भएको भन्दै सच्याउन आग्रह गरेका थिए। उनीहरूले जनप्रतिनिधिहरुको विमा तथा भ्रमण खर्चमा अत्याधिक रकम विनियोजन गरिएको र कर्मचारीमैत्री बजेट भएको बताएका थिए। 

 

प्रकाशित: ३ श्रावण २०७५ १०:२४ बिहीबार

वडाध्यक्षलाई मोटरसाइकल कर्मचारीलाई दिवा खाजा