समाज

महोत्तरीमा बैंकबाट झिकेको १६ लाख दिउँसै लुटियो

महोत्तरी- लुटेराहरुको एक समूहले महोत्तरीमा दिन दहाडै लाखौंको लुटपाट गरेको छ। मनरा सिस्वा नगरपालिका ६ सरपल्लोका मनि ट्रान्सफर संचालक संजितकुमार साहको १६ लाख ५२ हजार रुपैयाँ लुटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी कुवेर कडायतले बताए।

जलेश्वर स्थित प्रभु वैंकबाट दुई लाख ५९ हजार र लक्ष्मी बैंकबाट १३ लाख ९३ हजार निकालेर प्रभु मनि ट्रान्सफरमा जाँदै गरेका साहको रकम लुटिएको हो। ज ६ प ५७६४ नम्वरको मोटसाईकलमा सवार साहलाई दुई वटा मोटरसाईकलमा मुखमा नकाव बाधेर आएको लुटेराहरुले लुटेका थिए।

लुटेराहरुले जलेश्वर वर्दिवास सडक खण्ड अन्तर्गत पर्ने जाउँख चोक नजिक सुनसान ठाउँमा साहको मोटरसाईकल रोक्न लगाई कन्चटमा पेस्तोल तेर्साएर रकम लुटेकव साहले बताएका छन्।

लुटपाटको खबर पाए लगतै अपराधिहरुको खोजविनका लागि त्यस क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको एसपी कडायतले बताए। पीडित संग घटनाबारे जानकारी लिइ सकेको र उनले बताएको हुलिया अनुसार अपराधिको खोजविन कार्य अघि बढाइएको उनले बताए।

 

प्रकाशित: २६ असार २०७५ १३:०७ मंगलबार

महोत्तरीमा बैंकबाट झिकेको १६ दिउँसै लुटियो