समाज

टिपरले ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

भक्तपुर – भक्तपुरबाट कोटेश्वरतर्फ आउदै गरेको बा४ख ८७२५ नम्बरको टिपरले मंगलबार जडीबुटीमा मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। 

टिपरले बा.८५प. ७१६ नंको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा झापा बिर्तामोड घर भई हाल भक्तपुर नगरपालिका–१ दूधपाटी बस्ने १८ वर्षीय रोयल सुवेदीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा घाइते भएका सुवेदीको शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ। 

दुर्घटनामा घाइते मोटरसाइकल चालक १८ वर्षीय अमन ढुङ्गेलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। ढुङ्गेलको टाउकोमा चोट लाग्नुका साथै बायाँ खुट्टा भाँचिएको छ। दुर्घटनामा संलग्न सवारी साधन र टिपर चालक धादिङ ठाक्रे–६ का २७ वर्षीय हरिशरण राईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिएको छ।  (रासस)

प्रकाशित: २६ असार २०७५ १२:३५ मंगलबार

टिपरले ठक्कर दिँदा एकको मृत्यु घाइते