समाज

बेपत्ता महिलाको शव फेला

फाइल फाेटाे

उदयपुर – सोमबार बाढीले बगाएर बेपत्ता पारेको महिलाको शव मंगलबार फेला परेको छ। त्रियुगा नगरपालिका ७ सहरेस्थित कालीखोलाले बगाएर बेपत्ता पारेको सोही ठाउँकी नरमाया बुर्जामगरको शव फेला परेको प्रहरीले जनाएको छ।

अघिल्लो दिन खेतमा रोपाइका लागि घरबाट निस्केकी ५४ वर्षीया मगर खोला तर्ने क्रममा बेपत्ता भएकी थिइन्। बिहानदेखि लगातार वर्षा भइरहे पनि खेतमा काम गर्न निस्केकी मगरलार्इ साँझपख घर फर्कने क्रममा कालीखोलाले बगाएको थियो। राति भएका कारण स्थानीयले उनको उद्दार गर्न नसकेपछि उनी बेपत्ता भएकी थिइन्।

प्रहरीमा खवर आएपछि टोली खटाएर स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा उनको शव २ सय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

आइतबार रातिदेखि परेको वर्षाले जिल्लाका बिभिन्न ठाउँमा व्यापक क्षति समेत पुर्याएको एसपी नवराज भट्टले बताए। वर्षाका कारण स्थानीय त्रियुगा र बरुवा खोलामा आएको बाढीले सदरमुकाम आसपासमा व्यापक कटान र डुबानको समस्या आएको छ। यस्तै पहाडी भेगमा पनि पहिरो जानुका साथै सडक भत्किएको प्रहरीले जनाएको छ।

प्रकाशित: २० असार २०७५ ०२:२२ बुधबार

बेपत्ता महिलाको शव फेला