समाज

वर्षाका कारण जनजीवन प्रभावित, सतर्क रहन आग्रह

बबई नदी, पश्चिम राप्ती जलाधारको धेरैजसो स्थानहरूमा तथा कर्णाली नदी जलाधारको चिसापानी र आसपास भारी बर्षा मापन भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

काठमाडौं – अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ।  अविरल रुपमा परेको वर्षाका कारण नेपालगन्जको मुख्य  सडकसहित दर्जनौ पसल डुबानमा परेका छन्। नेपालगन्जको न्युरोड, सहिद सेतु बिक चोक, घरबारी टोल लगायतस्थान डुबानमा परेको हो। यस्तै वीरगञ्जको जनजीवन पनि पानीका कारण प्रभावित भएको छ। वीरगञ्जको श्रीपुर, पानीट्यांकी, जिल्ला प्रशासन कार्यालय पर्सा क्षेत्र डुवानमा परेका छन्। पानीले निकास नपाउँदा घर तथा पसलहरुमा पानी पसेको छ।

वर्षाको पानी निकासका लागि सिरहाको मिर्चैया नगरपालिकाले निर्माण गरेको नालाबाट वर्षाको पानी छताछुल्ल हुँदा बजार जलमग्न भएको छ।

गत्त वर्ष असार महिनामा हतार हतार निर्माण भएको नालाभएर वर्षाको पानी निकास हुन नसकेपछि बजार जलमग्न भएको हो।

निकास थुनिदा मिर्चैया बजार जलमग्न बनेको छ। पूर्वपश्चिम राजमार्ग भएर बजार उत्तरको पानी बगिरहेको छ। राजमार्ग भएर पानी बग्दा आवागमनमा अप्ठ्यारो भैरहेको मिर्चैयाका स्थानीय व्यपारी अशोक कुमार साहले भने।

राजधानी काठमाडौंमा पनि रातभरको अविरल वर्षाको कारण सडकमा जमेको पानीका कारण यात्रुहरुले सास्ती व्यहोरेका छन्।

राप्ती, बबईको सतह बढ्यो

बाँकेको कुसुममा राप्ती नदीको पानीको सतह २ मिटर पुगेकव छ। कुसुममा साढे ५ मिटर सतह पुग्ने वित्तिकै राप्ती नदीको तल्लो तटिय क्षेत्रका दर्जनौं गाउँ डुब्छन्। भारतले अन्र्तराष्ट्रिय नियम विपरित लक्ष्मणपुर बाँध, कल्कलवा तटबन्ध र सिमा सडक निर्माण गरेपछि वर्षेनी गाउँहरु डुब्न थालेका हुन्। वर्षाले डुबानको जोखिम बढाएपछि स्थानीय प्रशासनले उद्दार कार्यमा हाइअलर्ट रहन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ।

यस्तै बबई नदिकको सहत पनि बढेको छ। बबईको चेपाङमा जलसतह विहान ११ बजे सतर्कता तह पार गरेको जनाइएको छ। बर्षा हुने क्रम जारी रहेकाले केही समय पछी खतरा तह आसपास पुग्ने संभावना रहेकाले वर्दिया जिल्लाका बबई तटिय क्षेत्रका आम सर्वसाधाराणलाई मध्यरातसम्म सतर्क रहन भनिएको छ।

सतर्क रहन आग्रह

मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएकाले आज देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाउँदै सतर्क रहन आग्रह गरेको छ। देशका धेरै जसो स्थानमा हल्कादेखि मध्य वर्षा तथा पूर्वी भागका केही स्थानमा मध्यदेखि भारी बर्षा हुने सम्भावना रहेको बताउँदै त्यस क्षेत्रका बाढीको जोखिममा रहेका सर्वसाधारणलाई विभागले एक विज्ञप्ति जारी गर्दै  सतर्क रहन आग्रह गरेको हो।

जल तथा मौसम विज्ञान विभागको बाढी सतर्कता केन्द्रले आज देशका कन्काई, कोसी, कमला, बागमती, नारायणी, पश्चिम राप्ति, बबई, कर्णाली र महाकाली लगायतका मुख्य नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले त्यस क्षेत्रका बासिन्दालार्इ समेत सतर्क रहन आग्रह गरेको छ।

पश्चिममा मोहना, बबई, पश्चिम राप्ति आसपासका साना नदीमा भारी वर्षाका कारण पानी खतराको तह आसपास हुने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ। चुरे र महाभारतबाट बग्ने नदीमा पनि बाढीको उच्च सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन महाशाखाको आग्रह छ।

 

 

 

 

 

प्रकाशित: १८ असार २०७५ ०७:०६ सोमबार

वर्षाका कारण जनजीवन प्रभावित सतर्क रहन आग्रह