समाज

कारको सीटमा लुकाई राखेको १३ लाख बढी भारतीय नोटसहित २ पक्राउ

कपिलवस्तु– कपिलवस्तुको कृष्णनगरस्थित लिंक गेटमा शनिबार दिउँसो कारको सीटमुनी लुकाई राखेको अवस्थामा १३ लाख बढी भारतीय रुपैंयासहित २ जना पक्राउ परेका छन्। 

प्रहरीले भारतको बढनीबाट नेपाल छिरेको एचआर शून्य ८ एक्स ६०८८ नम्बरको कारको बीचको सिटबाट १३ लाख १३ हजार ६६० रुपैंया बरामद गरेको हो। प्रहरीले शंका लागि कारमा चेकजाँच गर्न खोज्दा चालक कारको ढोका लक गरी फरार भएका थिए। कारमा खोजतलास गरेपछि सो रकम बरामद भएको प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताए। सो कारमा सवार भारतको कैदेल हरियाणका राजेन्द्र जाट र कञ्चनपुर स्थित गौरीगंज नगरपालिका– ६ बनभेडा घरभई हरियाणा बस्ने महेन्द्र ओझा नोटसहित पक्राउ परेको कार्कीले बताए। 

राष्ट्र बैंकले ताकेको सीमा भन्दा बढी नोट देखिएको र लुकाएर ल्याएकोले दुबैलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको कार्कीले बताए। बरामद भएका नोटहरुमा २ हजारको १८ वटा, ५ सयको २४ गड्डी, २ सयको एक गड्डी, एक सयको २ गड्डी, ५ सयको ७५ वटा, ५० को २ वटा, १० को ३ वटा नोट बरामद भएको थियो।

प्रकाशित: १६ असार २०७५ १४:३० शनिबार

कारको सीटमा लुकाई राखेको १३ बढी भारतीय नोटसहित पक्राउ