समाज

सिँचाई योजना ठेक्कामा अनियमितता भएको आरोप

ठेक्काका बिषयमा जानकारी माग गर्दै सिँचाई बिकास डिभिजन कार्यालयमा परेको निबेदन । तस्बिर : नागरिक

खोटाङ– सिँचाई योजनाको ठेक्का सम्वन्धी बिवरणको माग गर्दै सिँचाई बिकास डिभिजन कार्यालय खोटाङमा निवेदन परेको छ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित छेपेखोला–खार्ते खोला सिँचाई योजनाको ठेक्कामा अनियमितता भएको भन्दै आइतबार सिँचाई बिकास डिभिजन कार्यालयमा दोर्पाचिउरीडाँडाका उमेशचन्द्र राईको निबेदन परेको हो। 

गत जेठ ९ गते १२.३० बजे ठेक्का खोल्दा ३२.५ प्रतिशत बिलोमा शुभ एण्ड ध्रुब कन्ट्रक्सन प्रालिलाई ठेक्का पर्ने भए पनि कार्यालयका कर्मचारीले सजिव निर्माण सेवाको नाममा असार ७ गते आशयपत्र जारी गरेको भन्दै आवश्यक सूचनाका लागि उजुरी परेको हो। ठेक्कामा भएको अनियमितताका बिषयमा जानकारी लिन सूचनाको हक सम्बन्धी ऐन २०६४ अनुशार कार्यालयमा निबेदन दिएको राईले बताए। राईले दिएको सूचनाको हक सम्वन्धी निबेदन सिँचाई बिकास डिभिजन कार्यालयमा ४२० नम्बरमा दर्ता भएको छ।

निबेदनका आधारमा सूचना नपाएको उजुरी प्रशासनमा पुगेपछि निमित्त प्रमुख जिल्ला अधिकारी सन्तोष सुबेदीले सोमबार नियम अनुसार सूचना उपलव्ध गराउन निर्देशन दिएका छन् । सूचना दिनमा अझै आलटा भइरहेको निबेदनको गुनासो छ। 

निबेदनमा छेपेखोला–खार्ते खोलाको ठेक्कामा संलग्न निर्माण व्यवसायीको बिल आफ क्वान्टिटी, ठेक्का खोलेको मुचुल्का र हाड कपीको अगाडि र पछाडि संलग्न प्रतिनिधिले गरेको हस्ताक्षर उपलव्ध गराउन माग गरिएको छ। एउटा निर्माण कम्पनीलाई पर्न लागेको ठेक्काको बिल अफ क्वान्टिटी परिवर्तन गरेर अर्कै निर्माण कम्पनीलाई ठेक्का पार्ने खेल भएकाले यतार्थ विबरण माग गरिएको निबेदन राईले जनाए। जिल्ला प्रशासन कार्यालयलाई निबेदनको बोधार्थ दिइएको छ। कार्यालयले १ करोड ९९ लाख ४५ हजार २७३ को आयोजनाका लागि गत बैसाख ९ गते सुचना प्रकाशित गरेको थियो। सिँचाई बिकास डिभिजन कार्यालयका प्रमुख हिमालय पौडेलले भने सबैभन्दा कम रेटमा ठेक्का हाल्ने निर्माण कम्पनीकै नाममा ठेक्का आशय दिइएको बताए। 

प्रकाशित: १२ असार २०७५ ११:०१ मंगलबार

सिँचाई योजना ठेक्कामा अनियमितता भएको आरोप