समाज

'मिटर व्याज'का नाईके सिंहसँग ६ नाल हतियार, प्रशासनद्वारा लाइसेन्स रद्ध

काठमाडौं- प्रहरीले मिटर व्याजका नाइके महेशबहादुर सिंहको हतियार खोसेको छ। महानगरीय अपराध महाशाखाले मिटर ब्याजका नाईके महेशबहादुर सिंहका साथमा रहेका ६ थान इजाजत प्राप्त हतियार खोसेको हो।

उनले हतियार देखाएर ठेक्का कब्जा गर्ने, सवारी साधनमा हतियार राखेर त्रास उत्पन्न गराउने गरेको प्रहरीले जनाएको छ। मिटर ब्याजको पैसा उठाउन समेत सिंहले हतियार देखाउने गरेका थिए।

लाइसेन्स प्राप्त हतियारको आडमा गुण्डार्दी गर्दै आएका सिंहसँग भएका जिल्ला प्रशासन कार्यालय, काठमाडौं र ललितपुरबाट लाइसेन्स प्राप्त हतियार तथा गोली नियन्त्रणमा लिएर सरकारी कोषमा दाखिला गरिएको प्रहरीले बताएको छ।

दुई वटा १२ बोर सटगन, तीन वटा २२ बोर राइफल र १ सय ३६ राउण्ड गोली सिंहको साथबाट प्रहरीले बरामद गरेको छ। हातहतियार खरखजाना ऐन २०१९ को दफा ११ बमोजिम हतियारको इजाजतपत्र रद्ध गरिएको हो।

प्रकाशित: १२ असार २०७५ ०७:०४ मंगलबार

मिटर व्याजका नाईके सिंहसँग नाल हतियार प्रशासनद्वारा लाइसेन्स रद्ध