समाज

श्रद्धाञ्जलीका लागि देवकोटाको पार्थिव शरीर न्युरो अस्पतालमा राखियो

काठमाडौं – वरिष्ठ न्युरो सर्जन प्रा. डा. उपेन्द्र देवकोटाको पार्थिव शरीरलाई बिहान आठ बजेदेखि अन्तिम श्रद्धाञ्जलीका लागि बाँसबारीस्थित न्युरो अस्पतालमा राखिएको छ। उनको शव दिउँसो एक बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि अस्पतालमा राखिने अस्पताल प्रशासनले जनाएको छ।

अन्तिम श्रद्धाञ्जलीपछि देवकोटाको शव नारायणगोपाल चोक हुँदै रिङरोडबाट पशुपति आर्यघाट लगिने छ।

सोमबार बेलुकादेखि नै अस्पतालमा आफन्त र शुभचिन्तकको ठुलो भिड लागेको छ। निधन भएको खबर पाएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु लगायत उच्च पदस्थ व्यक्तिहरुले अस्पताल पुगेर देवकोटाप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए भने आज पनि विभिन्न व्यक्ति श्रद्धाञ्जली दिइरहेका छन्।

सुरुदेखिनै बेलायतबाट उपचार छोडेर देशको माटोमा देहत्याग गर्ने भन्ने मनसायका साथ नेपाल फर्किएका देवकोटा अन्तिम अवस्थामा रोगले च्याप्दा हेलिकप्टरमै यही जेठ २६ गते गोर्खाको लिगलिगकोट पण्डित गाउँस्थित जन्म घर पुगेका थिए। उनले त्यहाँ सिसने धाराको पानी समेत पिएका थिए।

मातृभूमि र जन्म गाउँप्रति असाध्यै श्रद्धा प्रदर्शन गरेका देवकोटाकै इच्छा अनुसार काजकिरिया पनि छोटो गर्न लागिएको छ।

आर्यघाटमा देवकोटाको शवलाई बिद्युतिय शवदाह गृहमा आजै अन्त्येष्टि गरिने छ।  देवकोटाको काजक्रिया जम्मा सात दिनको हुने छ। उनको काजक्रिया श्रीमती मधु, छोरीहरु मेघा, मञ्जरी र बसुद्याले गर्ने छन्।

प्रकाशित: ५ असार २०७५ ०३:१४ मंगलबार

श्रद्धाञ्जलीका लागि देवकोटाको पार्थिव शरीर न्युरो अस्पतालमा राखियो