समाज

दुई दर्जनबढी आयोजनाका ठेकेदारलाई कारबाही सिफारिस

पाल्पा- सम्झौता अनुसार तोकिएको समयमा काम नगर्ने जिल्लाका ठेकेदारहरुको सूची गृह मन्त्रालयमा पठाईएको छ। आयोजनाको ठेक्का लिएर समयमा काम नसक्ने ३० ठेकेदारलाई सहित अन्यको निर्माण व्यवसायी, ठेक्का रकम, निर्माण सुरु र सम्पन्न गर्नुपर्ने समय सहितको विस्तृत विवरण जिल्ला प्रशासन कार्यालयले पठाएको हो।

जिल्लाका ५५ आयोजनामा काम गरिरहेका ५८ ठेकदारहरु मध्ये ३० ठेकेदारको काममा लापरवाही र ढिलासुस्ती पाईएको छ। जसमा चार ठेकेदारले भने काम समयमै नसकिएपछि म्याद थपका लागि माग गरेका छन्। आयोजना जिम्मेवारी लिएर निर्माण सम्पन्न हुने समयसम्म काम नगर्ने ठेकेदारहरु सहित अन्य सबै आयोजनाको विवरण गृह मन्त्रालयमा पठाईएको पाल्पाका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकालले बताए। उनी भन्छन्, ‘केन्द्रले विवरण माग गरे अनुसार हामी विवरण पठाएका छौं। केन्द्रकै निर्देशन अनुसार काम हुन्छ।’

जिल्लाका बाटो, पुल, सिंचाई, स्वास्थ्य संस्थाका भवनका आयोजनाका ठेकेदारहरुको लापरवाही बढी देखिएको छ। सडक डिभिजन कार्यालय, भवन डिभिजन कार्यालय, पुल आयोजना पश्चिम सेक्टर, कालीगण्डकी आयोजनाको काम एउटै ठेकेदारले पाउँदा अधिकांश योजना समयमै हुन नसकी अलपत्र परेका छन्। जि थ्री विल्डर्स एण्ड डेभलप्र्स प्रा.लि. काठमाण्डौले जिल्लामा सबैभन्दा धेरै ५ सडक आयोजनाको ठेक्का लिएर काम अलपत्र पारेको छ । २०७० सालमा धेरै काम ठेक्का लिएर यो ठेकेदार अहिलेसम्म सम्पर्कमा नरहेको डिभिजन सडक कार्यालयका सूचना अधिकारी पवित्रमणी आयार्यले बताए। उनी भन्छन्, ‘जिल्लामा पछिल्लो समयमा धेरै ठेक्का लिने ईलाइट कम्पनी हो। यसले काम गरिरहेको देखिएको छ।’

आयोजनाको ठेक्का लिएर समयमा काम नसक्ने ३० ठेकेदारलाई सहित अन्यको निर्माण व्यवसायी, ठेक्का रकम, निर्माण सुरु र सम्पन्न गर्नुपर्ने समय सहितको विस्तृत विवरण जिल्ला प्रशासन कार्यालयले पठाएको हो।

यस्तै डिएण्डडि विल्डर्स, ईलाइट/एसबीए जेभी, कोशी एण्ड न्यौपाने जेभी र सूर्यचन्द्र कन्सट्रक्सनले दुईभन्दा बढी आयोजनाको ठेक्का पाई काम अलपत्र राखेका हुन् । काममा ढिलासुस्ती गर्ने अन्य निर्माण व्यवसायीमा शिवशक्ति निर्माण सेवा, लोकप्रिय निर्माण सेवा, सिद्धबाबा निर्माण सेवा, इको विल्डर्स, प्राकृतिक निर्माण सेवा, बिरुवा, कन्काई, कनटेक, अरनिको, कान्छाराम जेभी छन् । शर्मा निर्माण, इके इन्जिनियरिङ, विवेक एण्ड कुवेर र जीवन एण्ड ब्रदर्शले समयमा काम नसकेका हुन् । गजुरमुखी निर्माण कम्पनी, सुर्यचन्द्र कन्सट्रक्सन, बरण कन्सट्रक्सन, बाँसुरी सुनिल जेभीले समयमा काम नसकिएपछि कारण सहित म्याद थपका लागि समय माग गरेका छन्। 

जिल्लामा निर्माण कार्य गर्दै आएका धेरै ठेकेदारले दुईभन्दा बढी स्थानका कामको ठेक्का पाएका छन् । एक भन्दा बढी स्थानमा कामको ठेक्का लिई योजनाको पेश्की रकम निकासा गरेपछि दुई, तीन वर्षसम्म फरार हुने समस्या जिल्लामा बढेको छ । जिल्लामा अहिलेसम्म २०६५ देखिका विकास निर्माणका काम नसकी ठेकेदार सम्पर्कमा नरहने समस्या छ । तानसेन नगरपालिकाको भ्यू टावर र अर्चले स्वास्थ्य चौकी भवनको काम नौँ वर्षमा पनि सकिएको छैन । तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाहीले तानसेनको निर्माणाधिन भ्यू टावरमा प्राविधिक समस्या देखिएको बताए । उनी भन्छन्, ‘टावर छड्के देखिएकोले प्राविधिकबाट यथार्थ विवरण सहितको प्रतिवेदन आएपछि टावर मर्मत गर्न वा के गर्ने भन्ने टुङ्गो लाग्ने छ ।’ यो टावरको आसपासमा भूकम्पपछि केही स्थान चर्किएको छ । यस्तै देउराली–कण्टिपोखरा–सिद्धेश्वर जाने सिमेन्ट पहुँच मार्गको काम पनि २०६८ सालदेखि अलपत्र छ।

शहरी विकास तथा भवन डिभिजन कार्यालय पाल्पासँग बाँसुरी/सुनिल/समिर जेभीले पाल्पा र गुल्मीका गरी नौँ वटा भवन बनाउने ठेक्का पाएको छ । एक वर्ष अघि नै जेभीले सबै भवन बनाउनुपर्ने सम्झौतामा उल्लेख भए पनि अहिलेसम्म १ वटा मात्र भवनको काम सम्पन्न गरेको छ । बाँकी सबै ८ वटा भवन निर्माणको काम सम्पन्न हुन नसकेको अवस्थामा छन् । यस्तै हिम्डुङ् एण्ड थोकर जेभीले समेत पाँच स्थानमा सडक, निर्माणको काम ठेक्का पाएको छ । तर उसको काम पनि वर्षौदेखि अलपत्र अवस्थामा रहेको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी पवित्रमणी आचार्यले बताए । कालीगण्डकी कोरिडोर र कालीगण्डकी नदीमा पुल बनाउन २०७० सालमा पाएको सडक निर्माणको काम, सडक डिभिजन कार्यालयको खस्यौली कण्टीपोखरा डम्बक सर्देवा सडकको काम र जिल्ला प्राविधिक कार्यालयको हरिआँप खोला पुल योजना अलपत्र छन् ।

लोकप्रिय निर्माण सेवाले २०६६ सालमा ठेक्का पाएको अर्चले स्वास्थ्य चौकीको भवन नौँ वर्षमा पनि पूरा गरेको छैन। उसले निर्माण कार्यमा पटक–पटक लापरबाही गर्दा समेत भवन डिभिजन कार्यालयले कारबाहीको दायरामा ल्याउन सकेको छैन । सन्तोषी प्यासेफिक कम्पनी र नेपाल प्रगति जेभी सुकेधारा काठमाडौँ, ओयसिस इ. एण्ड बिल्डर्स प्रा.लि. भरतपुर, अमर सूर्य पशुपति जेभी विराटनगरले कालीगण्डकी आयोजनाको काम पूरा गर्न सकेको छैन । २०७१ सालमै ठेक्का सम्झौता लिएपनि कालीगण्डकी कोरिडोर अन्तर्गतका सबै काम अलपत्र छन् । चिदीपानीको स्वास्थ्य चौकीको भवन, हुमिन स्वास्थ्य चौकीको भवन, खस्यौली प्राथमिक स्वास्थ्य केन्द्र, रिङ्नेरह स्वास्थ्य चौकीको भवन, बौघागुम्हा स्वास्थ्य चौकीको भवन समेत सकिएको छैन । यस्तै रामपुर अस्पतालको भवन, देउराली स्वास्थ्य चौकीको भवन, रुप्से स्वास्थ्य चौकीको भवन, झिरुबास स्वास्थ्य चौकीको भवन, छहरा स्वास्थय चौकीको भवनसमेत समयमै निर्माण हुन सकेको छैन ।

२०७४ चैतमा सक्ने गरी पाल्पाका अधिकांश स्वास्थ्य चौकीका भवनको सम्झौता भए पनि निर्माण कार्य रोकिएका छन् । भवन डिभिजनको रबिना कन्स्ट्रक्सन प्रालि, सूर्यचन्द्र कन्स्ट्रक्सन प्रालि, शिद्धबावा निर्माण सेवा, बरुण कन्स्ट्रक्सन, इको विल्डर्स प्रालि, श्री कर्माचार्य कन्स्ट्रक्सन, श्री भण्डारा थोतुङ्गले ठेक्का पाएका काम सकिएको छैन । सडक डिभिजन कार्यालयले ठेक्का गरेको कालीगण्डकीको पुल २०६८ सालदेखि कन्काईरनेपाल प्रगतिरमिलेनियम जेभी काठमाडौँले काम अलपत्र पारेको छ ।

यस्तै इलाइटरएस.बी, एजेभी काठमाडौँले समेत पाल्पा रामपुर–दामाचौर जाड्ने पुलको काम ७ वर्षदेखि सकेको छैन। यस्तै तानसेन–ढुंगाखानी बाइपास सडकको ठेक्का पाएको अरनिको/बाम्ती भण्डारा र दाप्चा जेभी काठमाडौँ, शिद्धबावा दोभानको सडक निर्माणको काम अलपत्र पारेको कान्छाराम–जयबावा गोरख जेभी, तानसेन सेन स्कूल तलदेखि बेथल स्कूल आउने बाटोको ठेक्का लिएको जिथ्री विल्डर्स एण्ड डेलपर्स प्रालि काठमाडौँ, डिएनबी विल्डर्स पाल्पाले समेत अधिकांश स्थानका सडकको काम अलपत्र पारेको छ।

महाभूकम्प र भारतको अमानवीय नाकाबन्दीका कारण देखाउँदै लामो समयदेखी ठेकेदारहरुले काम समयमा नसकेका हुन् । स्थानीय तह, प्रदेश सभा र संघीय सभाको निर्वाचन सम्पन्न भैसकेको छ । सरकारले आर्थिक वर्ष २०७४/७५ को वार्षिक बजेटमार्फत स्थानीय सरकार (तह) हरूले सीधा खर्च गर्न सक्ने गरी ठूलो बजेट विनियोजन गरेको छ। राष्ट्रिय महत्व र गौरवका ठूल्ठूला आयोजनाहरू संघीय (केन्द्र) र प्रादेशिक सरकारले अघि बढाउने भए पनि स्थानीय तहका विकास निर्माण अब पूर्णतः स्थानीय सरकारमार्फतै हुनेछ।

प्रकाशित: २९ जेष्ठ २०७५ १२:५९ मंगलबार

दुई दर्जनबढी आयोजनाका ठेकेदारलाई कारबाही सिफारिस