समाज

कम विद्यार्थी भएका सामुदायिक विद्यालय गाभिदै

तुलसीपुर - तुलसीपुर उपमहानगरपालिकाले नगरपालिकाभित्र रहेका कम विद्यार्थी भएका सामुदायिक विद्यालयलाई गाभ्ने प्रक्रिया अगाडि बढाएको छ।

लामो समयदेखि चल्दै आएको भए पनि विद्यार्थी संख्या अति न्यून रहेका सामुदायिक विद्यालयलाई उपमहानगरपालिकाले कार्यविधि बनाएर गाभ्ने प्रक्रिया अगाडि बढाएको हो।पहिलो चरणमा दुई विद्यालय गाभ्ने निर्णय गरेको शिक्षा समितिका संयोजक देवराज विश्वकर्माले जानकारी दिए।

उनका अनुसार तुलसीपुर उपमहानगरपालिका–१६ भेलाहीमा रहेको नेत्रज्योति प्राविलाई आधारभूत विद्यालय लक्ष्मीपुरमा र वडा नं ३ मा रहेको प्रावि थापापानीलाई मावि प्रतापकोटमा गाभिएको हो।अन्य विद्यालयले पनि गाभिनका लागि निवेदन दिएको र त्यसलाई क्रमशः अनुगमन गरेर कार्यान्वयन गरिने बताइएको छ ।गाभिएका विद्यालयमा रहेका शिक्षकलाई आवश्यकताअनुसार विभिन्न विद्यालयमा पठाइने पनि संयोजक विकले बताए ।

यसैबीच तुलसीपुर उपमहानगरपालिकामा आज बसेको शिक्षा समितिको बैठकले विद्यालयमा हुने सांस्कृतिक कार्यक्रममा बालमनोविज्ञानमा नकारात्मक असर पार्नेखालका गीत र नृत्य प्रस्तुत नगर्न आग्रह गर्ने निर्णय गरेको छ ।बालबालिकालाई सस्ता, भद्दा र अश्लीलखालका गीतमा नृत्य गराउनाले उनीहरुको मनोविज्ञानमा नकारात्मक प्रभाव पर्ने भन्दै बैठकले राष्ट्रिय भावधाराका गीतमा नृत्य गर्नका लागि आग्रह गर्नेसमेत निर्णय गरेको छ।

यसैगरी शिक्षक महासंघले बुझाएका विरोध तथा मागपत्र अध्ययन गरेर स्थानीय तहले गर्ने भनेका कुरा स्थानीय तह र संघ र प्रदेशले गर्ने कुराका लागि सिफारिस गर्ने निर्णयसमेत गरेको छ।रासस

 

प्रकाशित: २४ जेष्ठ २०७५ ०६:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App