समाज

धादिङबेसी–सल्यानटार सडकखण्ड निर्माण सुस्त

धादिङ - हिलाम्मे सडक, अलपत्र यात्रु र फसेको सवारी साधन । धादिङबेसी–सल्यानटार सडक खण्डको बेहाल अवस्था हो यो । निर्माणाधीन यस सडक खण्डमा ठेकेदार कम्पनीको मनोमानीका कारण सडक अस्तव्यस्त बनेको छ । प्रिमनसुन सुरु भएका कारण पनि निर्माणाधीन सडकमा पानी परेका बेला सवारी साधन गुड्नै नसक्ने अवस्थामा पुगेको छ ।

जिल्ला सदरमुकाम धादिङबेसीबाट सल्यानटार जोड्ने सडकको २६ किलोमिटर दूरी टारीबेसीसम्मको सडक स्तरोन्नतिका नाममा जनताले सास्ती व्योहोर्नु परेको नीलकण्ठ नगरपालिका ९ का स्थानीय गुरुप्रसाद लम्सालले गुनासो गरे ।वर्षा सुरु भएसँगै यस क्षेत्रको बाटो बिग्रिएको छ । स्तरोन्नति (कालोपत्रे) गर्ने जिम्मा लिएको लामा कन्ट्रक्सनले निर्माण थालेको १७ महिना कटिसक्दा पनि अपेक्षाकृत उपलब्धि देखाउन सकेको छैन ।

भएका काम गुणस्तरहीन हुँदा सडक भत्किन थालेका छन् । अहिलेसम्म बनेका संरचनामा पनि गुणस्तरहीन सामग्रीको प्रयोग भएको स्थानीयले आरोप लगाएका छन् । ‘बाटोको जोखिमपूर्ण अवस्थाका कारण सवारी साधनमा यात्रा गर्नुभन्दा पैदल हिँड्नु सुरक्षित र छिटो हुने गर्छ,’ लम्सालले भने, ‘हिलाम्मे बाटो रेलमार्गजस्तै बनेको छ ।’ पक्की सडक निर्माणमा देखिएको सुस्तताले सडक अलपत्र परेको छ । वर्षा लागेपछि गन्तव्यमा नै नपुगिएला कि भन्ने डर हुने गरेको लम्सालको भनाइ छ ।

सडक निर्माणमा तीव्रता ल्याई नागरिकको समस्या चाडो समाधान गर्न स्थानीयले पटकपटक आग्रह गरेका छन् । सडकमा परेको जग्गाको मुआब्जा वितरणमा एकरूपता नभएको, सडक बनाउँदा जथाभाबी भल खोलिदिँदा घरभित्र बाढी पस्ने गरेको स्थानीयले बताए । सडक बिग्रेकाले बिरामी लिएर उपचारमा जान समेत कठिनाइ हुने गरेको लम्सालले बताए । २ वर्षभित्र सम्पन्न गरिसक्ने गरी २०७३ पुस १४ मा सडक निर्माण सम्झौता भएको थियो । तर, निर्माण सुरु गरिएको १७ महिना पूरा भइसक्दा जम्मा ३१ प्रतिशतमात्रै काम सम्पन्न भएको छ ।सर्वसाधारणको सुविधाका लागि निर्माण भइरहेको सडककै कारण हरेक दिन हजारौं व्यक्तिले दुःख र सास्ती भोग्नुपरेको छ । सडक निर्माण भइरहेका ठाउँमा मुआब्जा वितरण विवाद सुल्झिएको छैन ।

लामो समयसम्म सडक आयोजना कार्यलयमा प्रमुख नभएकाले पनि ठेकेदार कम्पनीले मनोमानी गरेको नीलकण्ठ ८ पाल्पाभन्ज्याङका नवराज ढुवाडीले बताए । ‘समस्या लिएर कार्यालयमा गयो, सुनुवाइ गर्ने कार्यालय प्रमुख नै भेटिँदैनन्,’ उनले भने, ‘सडक मुआब्जाको काम कता अल्झियो कता ।’ सडकमा बनाइएका संरचनाको नियमित अनुगमन नहुँदा ठेकेदार कम्पनीले मनोमानी गर्ने गरेको स्थानीयकोे आरोप छ ।बर्खायाम सुरु हुने बित्तिकै प्रायःजसो ग्रामीण सडकका भाडादर पनि बढ्ने गरेको छ । सडकको अवस्था बिग्रिएका कारण सवारी साधनमा बढी क्षति पुग्ने भएकाले यात्रुबाट धेरै भाडा लिनुपरेको सवारीधनी बताउँछन् । मालसामान ढुवानीमा वर्षा सुरु हुनेबित्तिकै साबिकको भन्दा तेब्बरसम्म भाडा बढ्ने गर्छ ।

वर्षा सुरु भएको केही समयमा नै धादिङको उत्तरी क्षेत्रमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिने गर्छ भने उपभोग्य वस्तुको अभावसमेत हुने गर्दछ । सडकमा सवारी साधन नियमित रूपमा चल्न नसक्दा बर्खाको समयमा उत्पादन हुने तरकारीलगायत अन्य कृषिउपज बिक्रीका लागि बजारसम्म ल्याउन समेत कठिन हुने गरेको किसानहरू बताउँछन् ।सडक स्तरोन्नतिका नाममा खनेर लथालिङ छाडिएको सडकमा पैदल, मोटरसाइकलमात्रै हैन, ढुवानीका साधनसमेत हिलोमा फस्ने गरेका छन् । सम्झौताअनुसार अहिलेसम्म ७२ प्रतिशत काम गरिसक्नुपर्ने थियो ।

ढुंगा, गिटीलगायतका निर्माण सामग्री ल्याउन कठिनाइ भएको र पानी परेका कारण निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनीका प्रतिनिधि युरोज अर्यालले बताए । ‘पानी पर्न सुरु भएकाले कच्चा पदार्थ ढुवानीमा समस्या भएको छ,’ उनले भने, ‘विभिन्न समस्याले ढिलाइ हँुदा अपेक्षाअनुसार काम हुन सकेन तर सडक निर्माणलाई निरन्तरता दिइरहेका छाै।’
कुल ७० करोड ११ लाख ७३ हजार रुपैयाँमा काम सम्पन्न गर्ने गरी लामा कन्स्ट्रक्सनले कालोपत्रे गर्ने जिम्मेवारी लिएको भए पनि बर्खा सुरु भएकाले सडकको अवस्था बेहाल बनेको छ । २६ किलोमिटर कालोपत्रे गर्नका लागि दुई खण्डमा छुट्याएर काम सुरु गरिएको थियो ।

अहिलेसम्म खण्ड १ अन्तर्गत १२ किलोमिटरको ३१ प्रतिशत र खण्ड २ को १४ दशमलव ७७ किलोमिटरको २१ प्रतिशत काम भएको धादिङबेसी आरुघाट–गोरखा सडक आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले बताए । ‘सम्झौताअनुसार निर्माण कम्पनीलाई अब ६ महिना काम गर्ने अवधि बाँकी छ’ उनले भने, ‘अहिलेसम्म २४ करोडभन्दा बढी रकम ठेकेदार कम्पनीले पाइसकेको छ ।’

सडक निर्माण कार्य ढिलो हुँदा धादिङ जिल्लाको उत्तरी भेग गोरखाको उत्तरपूर्वी क्षेत्रका ग्रामीण भेगको जनजीवन निकै प्रभावित भएको छ । तोकिएको मापदण्ड र समयसीमाभित्र काम सम्पन्न गर्न धादिङ निर्वाचन क्षेत्र २ अन्तर्गत प्रदेशसभा ख का सांसद जगत सिंखडाले निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । काम नगरी समय गुजारेको र काममा ढिलासुस्ती हुनुका कारण सरकारलाई दोषी देखाएर जिम्मेवारीबाट पन्छिन नहुने उनले बताए।

यो सडक खण्ड पार गर्दै जिल्लाको त्रिपुरासुन्दरी, गंगाजमुना र ज्वालामुखी गाउँपालिकालगायत उत्तरी क्षेत्रका बासिन्दा आवातजावत गर्ने र सामान ओसार्ने गर्छन् । सडक निर्माणमा ढिलासुस्ती हुँदा यस भेगका स्थानीय मारमा परेका छन् । वर्षायाम सुरु नहुँदै स्थानीय बासिन्दाले झनै सास्ती भोग्नुपरेको छ भने भूकम्पको अनुदान रकम लिएर घर बनाउनका लागि निर्माण सामग्री लैजान साह्रै गाह्रो र महँगो भएको उनीहरूले गुनासो गरे । सडकमा जमेको पानी र खाल्टाखुल्टीले पैदल हिँड्नसमेत कठिनाइ भएको छ ।

 

प्रकाशित: १७ जेष्ठ २०७५ ०२:०७ बिहीबार

धादिङबेसी–सल्यानटार सडकखण्ड निर्माण सुस्त