समाज

फागुनभित्र कालीगण्डकीको पानी तानसेनका धारमा आइपुग्ने

पाल्पा – पाल्पा सदरमुकाम तानसेनको खानेपानी समस्या समाधानका लागि कालीगण्डकी लिफ्टिङ खानेपानी आयोजनाको काम ३८ प्रतिशत सम्पन्न भएको छ। तानसेन नगरपालिका–१३, बौघागुम्हा स्थित कालीगण्डकी नदीबाट बोरिङ गरी तानसेनलाई १५ वर्षसम्म पुग्ने गरि खानेपानी ल्याउन लागिएको हो।

कालीगण्डकी नजिक इनार ‘कलेक्टर वेल’ खनेर इनारबाट ४० लिटर प्रतिसेकेण्डका दरमा तानसेनमा पुर्याउन लागिएको हो। डिभिजन खानेपानी तथा सरसफाई कार्यालयका प्रमुख केशवलाल शाक्यले नेपालको सबैभन्दा ठूलो पम्पिङ्ग प्रणालीबाट तानसेनमा खानेपानीको समस्या पुरा हुन लागेको बताए। उनले कालीगण्डकीको नदीभन्दा साढे दुई मिटर तलसम्म कलेक्टर वेल पुगिसकेको बताए। जुन नदीको सतहभन्दा ६ मिटर तलसम्म पुग्छ। उनी भन्छन्, ‘एक घण्टामा एक लाख ३८ हजार लिटर पानी पुग्छ। पानी ८ ईन्चीको पाईप भएर लैजान्छौं। पाँचवटा पम्पिङ्ग स्टेशन बनाईएको छ। त्यहाँबाट वसन्तपुरको ट्यांकीमा लगेर पानी वितरण हुन्छ।’

मंसिरको ७ गतेभित्र तानसेनमा खानेपानी पुग्नेगरी सम्झौता गरिएको भएता पनि फागुनभित्रमै तानसेनका धारामा पानी पुग्ने शाक्यले बताए। ‘अहिलेसम्म ७ करोड ५० लाख आयोजनामा खर्च भैसकेको छ। यस आयोजनाका लागि सरकारले ३९ करोड ९६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। २५ करोड १९ लाखको ठेक्काको काम भैरहेको हो। दैनिक ३० देखि ३८ लाख लिटर खानेपानी तानसेनमा पुग्नेछ। खानेपानी पम्पिङ्ग गर्न ६ सय ५० किलोवाट क्षमताको  विद्युतीकरणको काम सम्पन्न हुने चरणमा छ। विद्युतीकरणमामात्र झण्डै दुई करोडको काम भएको हो। अब खानेपानी प्रशोधन केन्द्र निमार्ण गर्ने काम बाँकी छ,’ कार्यालय प्रमुख शाक्य भन्छन्, ‘पहिलो चरणको कालीगण्डकीको पानीको गुणस्तरलाई चेकजाँच गरेर के कस्तो अवस्थाको पानी हामीलाई प्राप्त हुन्छ त्यो अनुसारको खानेपानी गुणस्तर ट्रिटमेन्टको योजना बनाएर अघि बढ्छाैं। १५ वर्षपछिसम्मको जनसंख्यालाई ध्यान दिएर यो योजना अगाडी बढेको हो।’

सोमबार जिल्लाका सरोकारवालाले आयोजनाको कार्यप्रगतिको स्थलगत अध्ययन गरेका छन्। आयोजनाको काम गरिरहेको कम्पनीका प्रतिनिधी दिपक न्यौपानेले विविध कारणले मंसिरमै पानी तानसेन नपुगेपनि फागुनभित्रमै तानसेनका धारामा पुग्ने गरि काम गर्दै आएको बताए। ‘कलेक्टर ट्यांकीको काम भैरहेको छ। कालीगण्डकीको पानी होईन। इनारको मुनीबाट इनारको पानी जाने हो। ८ दशमलव ५ मिटर गहिराईको काम भैसकेको छ। डिजाईन अनुसार १० मिटर तल पुग्नुपर्छ,’ न्यौपानेले भने, ‘पाँचवटा स्टेशनको काम सकिने अवस्थामा छ। नदीको सतहभन्दा मुनीसम्म इनार पुर्याएर त्यसमा पानी आउँछ। पाईपहरु आईसकेको छ। त्यसको व्यवस्थापन गरि तानसेनमा पानी पुग्छ सीमलेस पाईपको प्रयोग भएर पानी जान्छ।’

यो आयोजना पुरा भएर पानी तानसेन पुग्दा उपभोक्ताले १० हजार लिटरको ६ सय रुपैयाँ तिरेर खानेपानी उपभोग गर्न पाउनेछन्। अहिले तानसेनमा दैनिक २५ लाख लिटर खानेपानीको आवश्यकता छ। तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष चकोरमान शाक्यले चारवटा लिफ्टिङ्ग प्रणाली मार्फत् दैनिक १५ लाख लिटरमात्र मुस्किलले पानी आपूर्ती हुँदै आएको बताए। उनी भन्छन्, ‘कालीगण्डकी नजिकै इनारबाट खानेपानी आपूर्ती हुँदा जिल्लाकै मुख्य समस्या बनेको खानेपानीको समस्या समाधान हुन्छ।’

प्रकाशित: १६ जेष्ठ २०७५ ०४:५४ बुधबार

फागुनभित्र कालीगण्डकीको पानी तानसेनका धारमा आइपुग्ने