समाज

तनहूमा ज्वरो र रुघाखोकीका बिरामी बढे

दमौली – केही दिनयतादेखि दमौली अस्पतालमा ज्वरो र रुघाखोकीका बिरामीको संख्या बढ्दै गएको छ। 

मौसम परिवर्तन सँगसँगै अस्पतालमा बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य प्रमुख रामकुमार श्रेष्ठले बताए। जेठको पहिलो हप्तादेखि नै बिरामीको चाप अत्यधिक रहेको जानकारी उनले दिए। भाइरल ज्वरो, विषमज्वरो, रुघाखोकीका बिरामीको चाप बढेको उनले बताए। 

दैनिक १६० जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन्, डा श्रेष्ठले भने। बिरामीलाई साफसुग्घर भएर बस्न, उमालेको पानी खान, तातो झोल पदार्थ खान, बासी सडेगलेका खानेकुरा नखान, सल्लाह दिँदै आएको अस्पतालका डा सृजना शर्माले बताए। दैनिक १५/२० जना इमर्जेन्सीका बिरामीको स्वास्थ्य जाँच गर्दै आएको स्वास्थ्यकर्मी बताउँछन्। 

व्यास नगरपालिका, रिसिङ गाउँपालिका, म्याग्दे गाउँपालिका, देवघाट गाउँपालिकालगायत क्षेत्रबाट बिरामी उपचारका लागि आउने गरेको दमौली अस्पतालले जनाएको छ। दाँतका समेत दैनिक २०/२५ जना बिरामी आउने गरेको डा दीपेन्द्र राय यादवले बताए। 

अस्पतालका जनस्वास्थ्य निरीक्षक ऐश्वर्य भट्टराईले गर्मी बढेसँगै अस्पतालमा बिरामीको संख्या बढ्दै गएको बताए। “दूषित पानी र फोहरमैलाका कारण हुने महामारी फैलन नदिन हामीले उच्च सतर्कतासमेत अपनाएका छौँ,” भट्टराईले भने। 

प्रकाशित: १० जेष्ठ २०७५ ०३:३५ बिहीबार

तनहूमा ज्वरो रुघाखोकीका बिरामी बढे