समाज

जलविद्युत आयोजनाद्वारा ९८ वटा कम्प्युटर हस्तान्तरण

रसुवाका स्थानीय तहलाई कम्प्युटर हस्तान्तरण गरिँदै। तस्बिरः नागरिक

रसुवा – रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाले मंगलबार ९८ वटा कम्प्युटर हस्तान्तरण गरेको छ। कोरिया इनर्जीले उपलब्ध गराएको कम्प्युटर आयोजना प्रभावित क्षेत्रका गाउँपालिका, वडा कार्यालय र विद्यालयहरूलाई हस्तान्तरण गरिएको आयोजनाले जनाएको छ। नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत लिबो सकले कम्प्युटर हस्तान्तरण गरेका हुन्।

जिल्लाका गोसाईंकुण्ड, कालिका, उत्तरगया र आमाछोदिङ्मो गाउँपालिका, चारवटा गाउँपालिकाका पाँचवटा वडा र १७ वटा विद्यालयलाई कम्प्युटर वितरण गरिएको आयोजनाका साइड इन्चार्ज सुमन भट्टले जानकारी दिए।

‘स्थानीय तहमा कम्प्युटर अभाव भएकाले काम गर्न असहज भएको पायौं,’ भट्टले भने, ‘यसैकारण हामीले सहयोग गरेका हौं।’ ग्रामीण भेगमा सञ्चालित विद्यालयमा कम्प्युटरकोे पहुँच पु-याउन विद्यार्थी संख्याका आधारमा कम्प्युटर प्रदान गरिएको उनले बताए।

जिल्लाका हाकु, राम्चे र धुन्चेमा सञ्चालित विद्यालयहरूलाई विद्यार्थी संख्या हेरेर दुईदेखि १६ वटासम्म कम्प्युटर प्रदान गरिएको आयोजनाले जनाएको छ।

जिल्लाको मैलुङमा आयोजनाको कार्यालय निर्माणका लागि जग्गा सम्याउने काम भइरहेको छ। आयोजना असोजबाट सुरु गरी पाँच वर्षभित्र सक्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । आयोजनाको अनुमानित लागत ६२ अर्ब रुपैयाँ छ। आयोजनामा कोरियन कम्पनीहरू, विश्व बैंक समूहअन्तर्गत अन्तर्राष्ट्रिय वित्त निगम आइएफसी र नेपाली लगानीकर्ताको लगानी रहनेछ।

प्रकाशित: २ जेष्ठ २०७५ ०२:५१ बुधबार

जलविद्युत आयोजनाद्वारा ९८ वटा कम्प्युटर हस्तान्तरण