समाज

कार्यविधि कार्यान्वयनमा चुनौती

भरतपुर विमानस्थलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई स्वागत गर्न आएका नेता तथा कार्यकर्ताको भीड। तस्बिरः सविता/नागरिक

चितवन – भरतपुर विमानस्थलमा विशिष्ट व्यक्तिहरू आउँदा हुने गरेको अनावश्यक भीड नियन्त्रणका लागि तयार गरिएको कार्यविधि कार्यान्वयनमा चुनौती देखिएको छ। विशिष्ट व्यक्तिहरू आउँदा स्वागतका लागि धेरै जना रन वेको नजिकसम्म पुग्ने परिपाटी अन्त्यका लागि विमानस्थलले कार्यविधि तयार गरेको थियो। चैतमा तयार गरी सार्वजनिक गरिएको कार्यविधि वैशाख १ गतेबाट लागू गरिएको थियो।

कार्यविधि लागू गरे पनि कार्यान्वयन गर्न नसकिएको विमानस्थलका प्रबन्धक पवनकुमार गौतम बताउँछन्। कार्यविधि कार्यान्वयन गर्न विशिष्ट व्यक्तिको अत्यधिक आगमन र केही आन्तरिक समस्या समेत रहेको उनले बताए। ‘सुरु त ग-यौं, केही आन्तरिक समस्या पनि देखियो,’ उनी भन्छन्, ‘आवश्यक प्रवेश पास पनि तयार भएको थिएन। साथै विमानस्थल सुरक्षा प्रमुख पनि परिवर्तन हुँदा समन्वयमा केही अप्ठ्यारो भयो।’

देखिएका चुनौतीहरू समाधान गरेर कार्यविधि कार्यान्वयन गर्ने तयारी गरिएको प्रबन्धक गौतमले जानकारी दिए। आवश्यक मात्रामा प्रवेश पास तयार गरिएको उनले बताए। वैशाख महिनालाई कार्यविधि कार्यान्वयनको परीक्षण अवधिका रूपमा लिइएको प्रबन्धक गौतमको भनाइ छ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल आउँदा भने विमानस्थलमा धेरै भीडभाड हुने गरेको छ। उनले भने, ‘सबभन्दा बढी चुनौती उहाँ आउँदा हुने गरेको छ।’

विशिष्ट व्यक्तिहरूको आगमन धेरै हुने जिल्लामा चितवन प्रमुख रहेको चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापा बताउँछन्। उनका अनुसार साउनदेखि वैशाखसम्ममा ८३ जना विशिष्ट व्यक्ति चितवन आएका छन्। ‘जिल्लामा विशिष्ट व्यक्तिहरू आउँदा सुरक्षा व्यवस्था मिलाउनै चुनौती हुन्छ,’ उनले भने, ‘भीआइपीहरूको धेरै आवागमन हुने हुँदा सुरक्षा व्यवस्था मिलाउनमै धेरै खटिनुपर्छ।’

वैशाखमा चितवन प्रहरीले आठ व्यक्तिलाई विशेष सुरक्षा व्यवस्था दिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए। उनका अनुसार गन्तव्यमा पु-याएर फर्किदाँसम्म प्रहरी नै खटिएर सुरक्षा प्रदान गर्नुपर्ने व्यक्तिको संख्या त्यति भए पनि विमानस्थल भएर यात्रा गर्ने विशिष्ट व्यक्तिको संख्या बढी छ। वैशाखको ३० दिनमा १५ दिन विमानस्थालमा अति विशिष्ट तथा विशिष्ट व्यक्ति यात्राका क्रममा आएका छन्।

जसमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा दुई/दुई पटक चितवन आएका छन्। यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशशरण महत, नवीन्द्र जोशी, शशांक कोइराला, गगन थापा, उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहाल लगायतका विशिष्ट व्यक्ति आएका छन्।

राजनीतिक दलका केन्द्रीय नेताहरू आउँदा हुने भीड व्यवस्थापन गरी विमानस्थललाई हुने समस्या कम गर्नकै लागि कार्यविधि लागू गरिए पनि कार्यान्वयन हुन सकेको छैन। स्वागतका लागि जिल्ला स्तरीय नेता तथा कार्यकर्ता विमानस्थलको रन वेसम्म पुग्ने गरेकाले विमानस्थल रेल स्टेशन जस्तो भएको प्रबन्धक गौतम बताउँछन्। माओवादी केन्द्रका अध्यक्ष दाहाल आउँदा भने विमानस्थलमा धेरै भीडभाड हुने गरेको उनको भनाइ छ। उनले भने, ‘सबभन्दा बढी चुनौती उहाँ आउँदा हुने गरेको छ।’

अनावश्यक भीडभाडले विमानस्थल भएर यात्रा गर्ने विशिष्ट व्यक्तिलाई सुरक्षा दिनसमेत गाह्रो भएको गौतमले बताए। यही समस्या हटाउन अनुमति लिएका निश्चित संख्यामा मात्र प्रवेश गर्न दिने व्यवस्था कार्यविधिमा गरिएको छ। ‘विमानस्थल निषिद्ध क्षेत्र प्रवेश नियन्त्रण र भिभिआइपी÷भीआइपी आवागमनको सुरक्षित व्यवस्थापनसम्बन्धी कार्यविधि’ का अनुसार भिभिआइपी व्यक्तिलाई स्वागत तथा विदाइका लागि बढीमा १५ व्यक्तिलाई निषेधित क्षेत्रमा प्रवेश गर्न पास दिइने व्यवस्था छ।

भिआइपी व्यक्ति आउँदा भने बढीमा १० जना मात्र विमानस्थलको भिआइपी कक्षसम्म जान पाउनेछन्। जेठ १ गतेबाट कार्यविधि पूर्णरूपमा लागू गर्ने तयारी गरिएको विमानस्थल प्रबन्धक गौतमले बताए। ‘कार्यविधिलाई सुरक्षाका हिसाबले लागू गर्नु अत्यावश्यक छ,’ उनी भन्छन्, ‘आन्तरिक तयारी सकियो, अब पूर्ण कार्यान्वयनमा जोड दिन्छौं।’

प्रकाशित: १ जेष्ठ २०७५ ०२:२९ मंगलबार

कार्यविधि कार्यान्वयनमा चुनौती