समाज

द्वन्द्वकालमा बेपत्ता भएका ३० जना अझै घर फर्केनन्

बाजुरा – जनयुद्ध सकिएको करीब २१ वर्ष पुगे पनि बेपत्ता भएका बाजुराका ३० जना घर फर्कन सकेका छैनन्।

राज्य र दुवै माओवादी पक्षबाट बाजुराका सर्वसाधारण जनताले हदैसम्म दुःख पाएका थिए। द्वन्द्वकालमा बालबालिकादेखि वृद्धवृद्धासमेत माओवादी र सरकार पक्षबाट पीडित बन्दै गएका थिए।

द्वन्द्वकालमा बेपत्ता स्थानीयवासी लामो समय बितिसक्दा पनि घर फर्कका छैनन्। बेपत्ता भएका घरका आफन्त बाटो कुर्दै बसिरहेका छन्। द्वन्द्वकालमा सरकार र तत्कालीन माओवादी पक्षबाट बेपत्ता पारिएका ३० जना अझै घर फर्कका छैनन्।

तिनको खोजीका लागि बाजुरा, बेपत्तासम्बन्धी आयोगमा उजुरी दर्ता भएका छन्। बेपत्ता पारिएकामा तत्कालीन राज्यपक्षबाट ११, माओवादी विद्रोही पक्षबाट १६, माओवादी र राज्यपक्षबाट एक र कुन पक्षले बेपत्ता पारेको हो भन्ने थाहा नभएका दुई जना रहेको उजुरी परेको स्थानीय शान्ति समितिको कार्यालय प्रमुख कर्णबहादुर बुढाले जानकारी दिए।

दुई जना बेपत्ताका परिवारले मात्र राहत पाएको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्लले बताए। राहत पाउनेमा स्वामी कार्तिक गाउँपालिका–३ का टेकेन्द्रबहादुर शाही र हिमाली गाउँपालिका–३ का जंगबहादुर रोकायका परिवार मात्र छन्।

बेपत्ता भएकाका परिवारलाई प्रति बेपत्ता व्यक्ति १० लाख आर्थिक वर्ष २०७३/७४ मा राहतस्वरुप वितरण गरिएको स्थानीय शान्ति समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए। द्वन्द्वकालमा मृत्यु भएका नेपाली सेना, नेपाल प्रहरी र कर्मचारीका परिवारलाई प्रतिमृतक १८ लाखका दरले करीब सात करोड ६३ लाख वितरण गरिएको प्रजिअ बरालको भनाइ छ।

यसैगरी द्वन्द्वकालमा घरबार नै छाडेर विस्थापित दुई हजार दुई सय ८२ परिवारमध्ये आव २०७३/०७४मा एक परिवारका प्रतिव्यक्तिले २५ हजारका दरले करीब तीन करोड ७३ लाख राहत दिइएको जिल्ला प्रशासन कार्यालय बाजुरामा अभिलेख छ। प्रतिपरिवार प्रतिव्यक्तिका दरले रकम हस्तान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराका लेखापाल लालबहादुर विष्टले बताए।

विस्थापितमध्येका एक हजार ९०५ परिवारले पुनःस्थापनाका लागि रकम लिएको र बाँकी ३७७ परिवारलाई पुनःस्थापना गर्नका लागि बजेट अपुग भएपछि ९१ लाख ५० हजार माग गरिएको लेखापाल विष्टले बताए। (प्रेम रौले/रासस)

प्रकाशित: ३० वैशाख २०७५ ०६:५१ आइतबार

द्वन्द्वकालमा बेपत्ता भएका ३० जना घर फर्केनन्