समाज

भारतीय नागरिक छुटाउन प्रहरी चौकीमा आक्रमण, पाँच प्रहरी घाइते

वीरगञ्ज– पर्साको जीराभवानी गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय सेंढवाको हिरासतमा रहेका अपहरणका आरोपी भारतीय नागरिक छुटाउन आएका स्थानीय र प्रहरीबीच झडप हुँदा ५ प्रहरी घाइते भएका छन् । 

आइतवार राति एउटै मोटरसाइकलमा ४ जना सवार भई आएका भारतीय नागरिकलाई बलुवा चौकीका प्रहरीले चेक जाँच गर्दा उनीहरु मादकपदार्थ सेवन गएिको भेंटिए । त्यसपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई सोही मोटरसाइकलमा एक जना प्रहरी बसेर सेढवातिर लैजान खोज्दा उनीहरुले ती प्रहरीलाई नियन्त्रणमा लिई भारततिर लैजान खोजेका थिए । सीमामा रहेको भारतीय सशस्त्र सुरक्षा बलले पुनः समातेर नेपाल प्रहरीलाई उनीहरुलाई सुम्पेको थियो । 

प्रहरीलाई नै अपहरण गर्न खोजेको आरोपमा चार जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेपछि उनीहरुलाई छुटाउन खोज्दा प्रहरी र स्थानीयबासीबीच सोमबार बिहान ३ बजे झडप भएको हो । 

पक्राउ परेकाहरुको आफन्त र चिनजानका मान्छेहरुले इलाका प्रहरीमा आक्रमण गरेर आरोपी छुटाउन खोज्दा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले २३ राउण्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी नायव उपरीक्षक राजन लिम्बुले जानकारी दिए
झडपमा जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी नायब निरीक्षक राजेश चौधरी, प्रहरी सहायक निरीक्षक गोपाल खड्का, इलाका प्रहरी कार्यालय पोखरीयाका, प्रहरी सहायक निरीक्षक सुकेश्वर महतो, पाडेपुर प्रहरी चौकीका प्रहरी हवल्दार आलोक बैठा, प्रहरी चौकी सुवर्णपुर प्रहरी जवान जयप्रकाश यादव घाइते भएका हुन् ।

भारतको बेतिया जिल्ला भंगहा थानाअन्तर्गत पर्ने सिसवा निवासी बजरंगी गौरो, रामप्रबेश गौरो, बिष्णु भर गौरो, दिनदयाल महतो गरी चार जना भारतीय नागरिकलाई प्रहरीले समातेको बिषयमा झडप भएको स्थानीय ओमप्रकाश चौधरीले बताए । 

आइतबार दिउँसो मदिरा सेवन गरेर आएका उनीहरुले सीमावर्ती प्रहरी चौकी वलुवामा खटिएका प्रहरीलाई गालीगलौज गर्दै अपहरण गरेका थिए । उनीहरुले प्रहरी हवलदार बिरबहादुर गुरुङलाई अपहरण गरी भारततर्फ लैजादै गर्दा भारतीय सीमा सुरक्षा बल एसएसबीको टोलीले पक्राउ गरी नेपाल प्रहरीलाई जिम्मा लगाएको थियो। 

पक्राउ परेका भारतीय नागरिकलाई छुटाउन उनीहरुका आफन्तले प्रहरी कार्यालय घेराउ गरेपछि जिल्ला प्रहरी कार्यालयबाट थप सुरक्षाकर्मी परिचालन गरिएको थियो।

उनीहरुले जिल्ला प्रहरी कार्यालयको गाडीसमेत तोडफोड गरेका छन् ।

प्रकाशित: २४ वैशाख २०७५ ०४:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App