समाज

बाख्रा चराउन गएका तीन बालबालिका बेपत्ता

खोटाङ– खोटाङमा बाख्रा चराउन गएका एकै ठाउँका तीन बालबालिका बेपत्ता भएका छन्। बाख्रा चराउन सुनकोसी किनार पुगेका बराहपोखरी गाउँपालिका–२ सुन्तले धाप्लाङका १२ वर्षीय सुमन श्रेष्ठ, ११ वर्षीय अनिता माझी र १० वर्षीय सबिन माझी बेपत्ता भएका हुन्।

शनिबार सुनकोसी किनारका जंगलमा बाख्रा चराउन गएका बालबालिका बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए। 

खोजतलास गर्दा बालबालिका नभेटेपछि आफन्तले आइतबार साँझ बेपत्ताको खोजीका लागि प्रहरीलाई उजुरी दिएका छन्। बाख्रा चराउन गएका समयमा बेपत्ता बनेका बालबालिकाको खोजीका लागि ईलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरीको टोली घट्नास्थलमा खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

धाप्लाङघाट बिकट र सञ्चार सम्पर्क नहुने भएकाले विस्तृत विवरण आउन बाँकी छ। बेपत्ता बालबालिका नभेटिएपछि सुनकोसीले बगाएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। 

प्रकाशित: २३ वैशाख २०७५ १६:२४ आइतबार

बाख्रा चराउन गएका बालबालिका बेपत्ता