काठमाडौं – नागरिक र यसका सहप्रकाशनहरुले वातावरणका मुद्दालाई उच्च प्राथमिकतामा राखेको एक अध्ययनले देखाएको छ । नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले सन् २०१८ को जनवरीदेखि मार्चसम्म गरेको अध्ययन अनुसार नागरिक दैनिक, रिपब्लिका दैनिक र यसका सहप्रकाशनहरुले वातावरणीय मुद्दाहरुलाई उच्च प्राथमिकता दिएको देखाएको छ ।
अध्ययन अनुसार काठमाडौबाट प्रकाशित हुने राष्ट्रिय दैनिक पत्रिकाहरूले वातावरण तथा जलवायु परिवर्तनका विषयलाई कम प्राथमिकता दिएका छन् । वातावरणीय मुद्दाहरुको प्राथमिकताबारे नेफेजको मिडिया अनुगमन समूहले तीन महिना अध्ययन गरेको थियो ।
अध्ययनका अनुसार ६ वटा दैनिक पत्रिकमा तीन महिनाको अवधिमा वातावरण र जलवायु परिवर्तनसम्बन्धी ३ सय ८३ वटा समाचार प्रकाशित छन् । पहिलो पृष्ठमा ४२ वटा समाचार छापिएका छन् । दोस्रोमा ५२, तेस्रोमा ३६, चौथोमा १०२, पाँचौंमा ३९, छैटौंमा ३, पृष्ठ ७ मा १०, पृष्ठ ८ मा ३७, पृष्ठ ९ मा २४, पृष्ठ १० मा १८ र पृष्ठ ११ मा १९ वटा समाचार प्रकाशित भएका छन् ।
ती मध्ये वायु, पानी र माटो प्रदूषणका मुद्दा समेटिएका समाचार धेरै छन् । यस सम्बन्धी ११७ वटा समाचार प्रकाशित छन् । यसैगरि जलवायू परिवर्तन सम्बन्धी १ सय ११ वटा, विपद् सम्बन्धी २० वटा, जैविक विविधता सम्बन्धी ४३ वटा र फोहोर व्यवस्थापन सम्बन्धी २० वटा समाचार प्रकाशित भएका छन् ।
वातावरण, जलवायु परिवर्तन र दीगो विकाससँग सम्बन्धीत ८ वटा विचार र एउटा मात्र सम्पादकीय प्रकाशित भएको छ । त्यस्तै, वातावरण तथा जलवायु परिवर्तनका समाचार पहिलो पृष्ठमा कमै मात्र छापिएका छन् ।
प्रकाशित: १६ वैशाख २०७५ ०६:३६ आइतबार