समाज

आयातित बिरामीबाट औलोको जोखिम कायमै

रत्ननगर- चितवन जिल्ला औलोबाट सुरक्षित बन्दै गएपनि आयातित बिरामीका कारण जोखिम कायमै रहेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

विश्व औलो दिवसका अवसरमा ‘हाम्रो सक्रियता, औलो निवारणमा सफलता’ भन्ने मूल नाराका साथ आज चितवनमा भएको पत्रकार सम्मेलनमा बोल्दै कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जोखिम कायमै रहेको भन्दै लामखुट्टेबाट बच्न आग्रह गरे।

भरतपुर महानगरको सहकार्यमा जनस्वास्थ्य कार्यालयले आज उक्त कार्यक्रम गरेकोे हो। यो रोग मान्छेबाट मान्छेमा नसर्ने भए पनि संक्रमित मानिसमा लामखट्टेले टोकेर अर्को मान्छेलाई सार्न सक्छ।

चितवनमा गएको एक वर्षमा दुई हजार १४३ जनाको परीक्षणमा ११ जनामा औलो रोग देखिएको छ । संक्रमितमध्ये १० जना बिरामी बाहिर देशबाट रोग लागेर आएको पाइएको केसीले बताए। अघिल्लो वर्ष १६ जनामा रोग देखिएको थियो।

एकजना मात्रै बिरामी नेपालभित्रै रोग संक्रमण भएको स्थानीयवासी बिरामी पाइएको उनले बताए। रोग लाग्नुअघि एक महिनाको अवधि देशभित्रै भएको व्यक्ति स्थानीयवासी र बाहिरबाट आएकालाई रोग लागेमा आयातित भनिन्छ।

जसमध्ये भरतपुर महानगरपालिकाका तीन जना, कालिका नगरपालिका र माडी नगरपालिकाका एक-एक जना गरी पाँचजना चितवनका बिरामी भए पनि अरु बिरामी भने बाह्य जिल्लाबाट उपचारका लागि चितवन आएकामा रोग भेटिएको हो । विगतमा औलो प्रभावित जिल्ला भनेर चिनिने चितवन पछिल्लो समयमा भने सुरक्षित बन्दै गएको छ।

‘एनोफ्लिज’ नामको संक्रमित लामखुट्टेबाट रोग सर्ने भएकाले झुल प्रयोगलाई बढाउनुपर्नेमा जनस्वास्थ्य कार्यालय चितवनका निमित्त कार्यालय प्रमुख लक्ष्मीप्रसाद महतोले जोड दिए। रोग लागेमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जाडो भएर कम्पन हुने, पसिना आउने र थाकेको महसुस हुन्छ।

नेपाल सरकारले सन् २०२५ सम्म नेपाललाई औलोमुक्त देश बनाउने लक्ष्य लिएको छ। सन् २०१८ मा बिरामीको संख्या ९० प्रतिशत घटाउने सरकारी योजना पूरा गर्न सबै क्षेत्रबाट सक्रियता हुनुपर्ने भरतपुर महानगरपालिका उपसचिव खडानन्द अधिकारीले बताए।कार्यक्रमको उद्देश्यबारे महानगरका स्वास्थ्य शाखा प्रमुख जीवन श्रेष्ठले जानकारी दिएका थिए।रासस

 

प्रकाशित: १२ वैशाख २०७५ ०७:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App