समाज

बेनी–कोरला सडकखण्डमा १४ वटा पक्की पुल निर्माण गरिँदै

म्याग्दी – नेपाल र चीनको सीमा क्षेत्र मुस्ताङको कोरला नाकासम्मको सडकखण्डमा १४ वटा पक्की पुल निर्माण गरिने भएको छ। कालीगण्डकी नदीको किनारैकिनार खनिएको यस सडकको विभिन्न सहायक नदीमा उक्त पुल निर्माण गर्न लागिएको हो।

अहिले छ वटा पुल निर्माणाधीन अवस्थामा रहेको र आठ वटा बोलपत्र, डिजाइन र सम्झौताको चरणमा पुगेको कालीगण्डकी करिडोर आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले बताए। उनका अनुसार, आगामी ३० महिनाभित्र सबै पुलको निर्माण सम्पन्न लक्ष्यसहित काम भइरहेको छ।

कालीगण्डकी करिडोरअन्तर्गत पर्ने १६९ किलोमिटर बेनी–जोमसोम–कोरला सडकको अहिले स्तरोन्नति कार्य भइरहेको छ। अहिले बेलिब्रिजमार्फत सवारी साधन वारपार हुँदै आएकामा ती बेलिब्रिजलाई विस्थापित गरी पक्की पुल निर्माण गर्न लागिएको आयोजना प्रमुख सुवेदीले बताए।

आयोजनाका अनुसार म्याग्दीको दानास्थित घट्टेखोलामा ५ करोड ७६ लाखको लागतमा फेवा नयाँजाय जेभी, मुस्ताङको घासामा खहरेखोलामा ५ करोड ९७ लाखमा सिर्वा कन्स्ट्रक्सन, मार्फा र जोमसोमको बीचमा साढे १० करोडमा मुक्तिनाथ श्री गीता जेभीले पुल निर्माण गरिरहेको छ।

त्यस्तै, कागबेनी खोलामा २ करोड ८८ लाख लागतमा गल्फा एण्ड रेविना जेभी र लोप्रा पाण्डखोलामा लोकप्रिय शंकरमनी जभीले ३ करोड ९ लाखमा ठेक्का लिएको छ। सडक विभागअन्तर्गत पुल सेक्टर नं ३ पाल्पाले म्याग्दीको तिब्ल्याङ र पोखरेबगरमा कालीगण्डकीमाथि पुल निर्माणको जिम्मा लिएको छ।

दुवै स्थानमा बेलिब्रिजलाई विस्थापित गरिनेछ। तिब्ल्याङमा निर्माण कार्य तीव्र रहे पनि पोखरबेगरमा भने शुरु भएको छैन। गलेश्वरस्थित राहुघाट खोलाको ठेक्का भने कालिका गजुरमुखी जेभीले लिएको छ। गजुरमुखीले तातोपानीदेखि कोबाङसम्म ३८ किलोमिटर सडक स्तरोन्नतिको कार्य पनि गरिरहेको छ।

आयोजनाले मुस्ताङको चराङखोला, घमीखोला, छुसाङखोला र ढुंगाखोलाका लागि एकहप्ताअघि टेण्डर आह्वान गरेको छ। नेपाली सेनाले मार्ग खोलेको ७६ किलोमिटर बेनी–जोमसोमखण्डमा गलेश्वर, तिब्ल्याङ, पोखरेबगर, स्याङ, खहरेखोलामा बेलिब्रिज जडान गरिएको थियो। तर, मर्मतसम्भारको अभावमा बेलिब्रिजहरु जीर्ण भएका छन्।     (रासस)

प्रकाशित: ५ वैशाख २०७५ ०८:४६ बुधबार

बेनी–कोरला सडकखण्डमा १४ वटा पक्की पुल निर्माण गरिँदै