२०७९ साल पुस १४ गते शनिबार ‘चरा फोटोग्राफी’ को उद्देश्यका साथ हामी चरा प्रेमीहरूको समूह बिहानै काभ्रेको पाँचखाल नजिकैको गाँउ तीनपिप्ले हुँदै ढुंगाना बेँसीतर्फ लाग्यौं।
यो स्थान मेरो पुर्ख्यौली थलो हो। बाल्यकालमा केही समय त्यहाँ बिताए पनि पछिल्ला वर्षहरूमा काम विशेषले मात्र जान पाएकोले यस ठाउँबारे खासै जानकारी थिएन। आफ्नै थलोमा चराचुरुङ्गीहरूको अवलोकन र तिनको फोटोग्राफी गर्न पाउनु मेरो लागि निकै रमाइलो र विशेष अवसर थियो।
हामी बिहानको करिब ८-९ बजेतिर ढुंगाना बेँसी पुग्यौं। वरिपरिका हरियाली, पहाडी भूभाग, र शान्त वातावरणले स्वागत गर्यो। बिहानको चिसो हावामा हामीले विभिन्न चरा अवलोकन गर्दै तिनका तस्बिरहरू खिच्यौं। फोटोग्राफीका लागि उपयुक्त वातावरणमा हामीले थुप्रै सुन्दर दृश्यहरू कैद गर्यौं।
भोक लागेकोले हामी नजिकैको सानो होटेलमा खाना खान गयौं। गाउँको सानो होटल भए पनि ताजा र स्वादिष्ट खाना पाइयो। खाना खाइसकेपछि गाउँलेहरूसँग भलाकुसारी गर्यौं। स्थानीय जीवनशैली र अनुभवबारे कुरा गर्दै जाँदा केही गाउँलेहरूले नजिकैको भेडाबारी गाउँमा मयूर देख्न पाइने बताए।
हामीले सुनेका थियौं, मयूरहरू सामान्यतया तराईका जङ्गल र फाँटमा मात्र पाइन्छन्। पहाडी भेगमा मयूर हुने कुरा हामीलाई विश्वास गर्न गाह्रो भयो। सुरुमा लाग्यो, कसैले एक-दुई वटा मयूर पालेका होलान्। तर, धेरै गाउँलेहरूले यो कुरा पुष्टि गरेपछि हामीमा कौतूहल जाग्यो।
हाम्रो चराप्रतिको आकर्षण देखेर होला, गाउँलेहरु हामीलाई मयूरको बारेमा जानकारी दिन उत्साहित थिए। र मयूर भएको स्थानतर्फ जान बाटो देखाइदिए। ढुंगाना बेँसीबाट भेडाबारी गाउँ धेरै टाढा थिएन। करिब १५-२० मिनेटको बाइक यात्रापछि हामी त्यहाँ पुग्यौं।
भेडाबारी गाउँ काभ्रेको नवबुद्ध नगरपालिकामा पर्ने सानो, रमणीय गाउँ हो। गाउँमा पुग्ने बित्तिकै हामीले स्थानीयसँग परिचय गरायौं र मयूरबारे थप जानकारी लिन थाल्यौं। गाउँलेहरूले मयूरहरू करेसाबारी, आँगन र घरको छानामा ‘खेल्न आउँछ’ भनी बताए। उनीहरूका अनुसार, गाउँमा केही झुन्ड मयूर नियमित रूपमा देखिने गरेका छन्।
हामी गाउँ नजिकैको पाखोमा पुगेर मयूर खोज्न थाल्यौं। निकै चनाखो नजरले चारैतिर हेरेपछि, एक झुन्ड मयूर देखा पर्यो। झुन्डमा भाले र पोथी मयूर दुवै थिए। हामीले यस्ता सुन्दर चरा यस क्षेत्रमा भेटिन्छ भन्ने कहिल्यै सोचेका थिएनौं। यो अप्रत्याशित खोज हाम्रो यात्राको सबैभन्दा उत्कृष्ट क्षण बन्यो।
हामीले चुपचाप मयूरहरूको गतिविधि अवलोकन गर्न थाल्यौं। उनीहरू सावधान र अलि डराएका जस्ता देखिन्थे। सम्भवतः हामी नयाँ अनुहार भएका कारण र हाम्रा क्यामेराका ठूला लेन्सले उनीहरूलाई असहज बनाएको थियो। यद्यपि, हाम्रो धैर्यताले हामीलाई केही उत्कृष्ट तस्बिरहरू खिच्न सहयोग गर्यो।
मयूरहरूको सुन्दरता र उनीहरूको चालढाल कैद गर्नु असाध्यै रोमाञ्चक अनुभव रह्यो। हामीले लगातार चार-पाँच झुन्ड मयूर देख्यौं। तिनको चालढाल, परस्परको व्यवहार र प्राकृतिक सौन्दर्य अवलोकन गर्दा समय बितेको थाहै भएन।
स्थानीयका अनुसार, मयूर यस क्षेत्रमा करिब १०-१२ वर्षदेखि देखिन थालेका हुन्। तर, उनीहरू यहाँ कसरी आए भन्ने कुनै ठोस जानकारी कसैसँग पनि छैन। यो कुरा अझै पुष्टि हुन सकेको छैन। सम्भवतः मयूरहरू यो क्षेत्रमा कुनै वातावरणीय परिवर्तन वा अन्य कुनै कारणले आएका हुन्।
यस विषयमा चरा संरक्षण संस्था र अनुसन्धानकर्ताहरूले थप अध्ययन गर्नुपर्ने देखिन्छ। मयूरको उपस्थिति यहाँको जैविक विविधताको प्रतीक हो। यो विषयले चरा संरक्षणका लागि नयाँ आयाम दिन सक्छ।
सबैभन्दा प्रेरणादायी कुरा के हो भने, स्थानीय बासिन्दा मयूरको संरक्षणप्रति अत्यन्त सचेत देखिन्थे। मयूरले करेसाबारीमा रोपिएका बाली खाए पनि उनीहरूले धपाउने काम गर्दैनथे। हिन्दु धर्ममा मयूरलाई भगवान् कार्तिकेय र माता सरस्वतीको वाहानको प्रतीक मानिने हुँदा उनीहरूले मयूरलाई पूजनीय ठानेका छन्।
हामीले यो यात्राबाट पाएको अनुभव केवल व्यक्तिगत खुसीमा सीमित छैन। यसले सम्पूर्ण चरा प्रेमी र संरक्षणकर्ताहरूलाई प्रकृतिप्रतिको जिम्मेवारी बोध गराउँछ। अझ गहिरो अनुसन्धान र अध्ययनमार्फत यो क्षेत्रमा मयूरको उपस्थिति र त्यसको प्रभावबारे नयाँ तथ्यहरू उजागर हुनेमा हामी आशावादी छौं।
-लेखक पराजुली प्रकृति र वन्यजन्तु फोटोग्राफर हुन्।
प्रकाशित: १५ माघ २०८१ २०:०० मंगलबार