समाज

सुप्रिम सहकारी ठगी: रुपन्देही अदालतमा मुद्दा दर्ता, रविसँग ४ करोड १५ लाख विगो माग

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशी (बन्जाडे) विरुद्ध जिल्ला अदालत रुपन्देहीमा पूरक अभियोजन मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले आइतबार रवि, छवि लगायतका २२ जना विरुद्ध  सङ्गठित रुपमा सहकारी ठगीको कसुर अन्तर्गत मुद्दा दर्ता गरेको हो।

सुप्रिम ठगी प्रकरणमा गोर्खा मिडिया मार्फत जोडिएका पूर्व गृहमन्त्री समेत रहेका लामिछाने विरुद्ध ४ करोड १५ लाख बढी र पूर्व डिआइजी जोशी विरुद्ध ४ करोड २७ लाख बढी बिगो माग दाबी सहितको अभियोग पत्र सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा बुझाइएको बताइएको छ।

मुद्दा दर्ता प्रकृया अगाडी बढेसँगै लामिछाने थुनछेक बहसका लागि आफ्नो तर्फका कानुन व्यवसायी सहित रुपन्देही आउने तयारीमा रहेको रास्वपा श्रोतले बताएको छ ।

बुटवलको सुप्रिम सहकारीका १ हजार ८३१ बचतकर्ताले सहकारीमा जम्मा गरेको ठुलो रकम हिनामिना गरेको भन्दै सहकारीका संरक्षक गितेन्द्रबाबु (जिबी) राई,अध्यक्ष ओमप्रकाश गुरुङ, सहितका पदाधिकारी, संचालक तथा कर्मचारीहरू विरुद्ध २०७९ सालको चैतमै प्रहरीमा उजुरी  दिएका थिए ।त्यसपछि सुरु भएको प्रहरीको छानबिन अनुसन्धानले सर्वसाधारणबाट जम्मा गरेको १ अर्ब ३१ करोड मध्ये ८६ करोड १८ लाख बढी रकम राई र गुरुङको समूहले अपचलन गरेको खुल्यो । सुरुमा गत बैशाखमा २८ जना विरुद्ध मुद्दा परेको थियो ।

अनुसन्धानकै क्रममा जिवी,छवि र रवि संलग्न रहेको गोर्खा मिडिया नेटवर्कमा मात्रै सुप्रिमबाट १४ करोड रुपैँया गएको  पाइएपछि प्रहरीले पूरक अनुसन्धान अगाडी बढाएको थियो । जसमा रवि,छवि लगायतका थप १४ जनालाई प्रतिवादी बनाइएको छ । प्रहरीले दोश्रो पटक गरेको पूरक अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दर्ताका लागि पूरक अभियोग पत्र जिल्ला अदालतलाई बुझाएको हो ।

यसअघि सुप्रिम ठगी प्रकरणमा गत शुक्रबार जिवी राई सहितका  १७ जना विरुद्ध जिल्ला अदालत रुपन्देहीमा थप अभियोजन मुद्दा दर्ता भइसकेको छ ।

सहकारीका संरक्षक गितेन्द्रबाबु राई (जिबी),अध्यक्ष ओमप्रकाश गुरुङ,कुमार रम्तेल सहितका  १७ जना विरुद्ध सहकारी ठगी र सङ्गठित अपराधको मुद्दा दर्ता भएको हो ।

गत बैशाखमै जिवी सहितका २८ जना विरुद्ध जिल्ला अदालतमा सहकारी ठगीको मुद्दा दर्ता  भएको थियो । ती २८ जना मध्ये सहकारीका संरक्षक जिबी राई,अध्यक्ष ओमप्रकाश गुरुङ सहितका १७ जना संचालक तथा कर्मचारी विरुद्ध सहकारी ठगी सँगै सङ्गठित अपराधको मुद्दा दर्ता भएको हो । बाँकी ११ जना विरुद्ध सहकारी ठगीमा मात्रै मुद्दा चल्नेछ ।

सुप्रिम ठगी प्रकरणमा थप र पूरक गरी ४२ जना विरुद्ध मुद्दा चल्ने छ । ती ४२ जनाबाट १ अर्ब १२ करोडको रुपैयाँ माग दाबी गरिएको बताइएको छ ।

प्रकाशित: ६ माघ २०८१ १७:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App