समाज

क्षतिपूर्तिमा सहमति नहुँदा बाँकेको हुलाकी राजमार्ग अवरुद्ध

सडक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति दिने विषयमा सहमति नहुँदा बिहीबार हुलाकी राजमार्ग अवरुद्ध गरिएको छ। नेपालगन्ज-नरैनापुर-बैजापुर जोड्ने हुलाकी राजमार्ग अन्तरगत कुण्डा चोकमा मृतकका परिवार तथा स्थानीय बासिन्दाले सडक अवरुद्ध गरेका हुन्।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ फत्तेपुर सर्रामा मंगलबार बेलुका साढे ६ बजेतिर नरैनापुरबाट नेपालगन्ज आउँदै गरेको भे १ ख ३७७४ नम्बरको बसले विपरीत दिशातिर गइरहेको भे ६ प ८८३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते भएका मोटरसाइकल चालक राप्ती सोनारी-७ फत्तेपुर, सर्रा निवासी २७ वर्षीय दिलबहादुर थारु र मोटरसाइकलमा सवार सोही ठाउँ निवासी २३ वर्षीय राजेश थारुको मृत्यु भएको थियो। 

स्थानीय बासिन्दाले सडकमा टायर बालेर नाराबाजी गरेका छन्। स्थानीय बासिन्दाको आन्दोलनका कारण हुलाकी राजमार्ग भएर चल्ने सवारी साधन ठप्प भएका छन्। क्षतिपूर्तिमा कुरा नमिल्दा परिवारले मृतकको शव बुझेका छैनन्। 

जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी, प्रहरी निरीक्षक हिमराज बिकले हुलाकी राजमार्गमा मृतकका परिवार र स्थानीय बासिन्दाहरू आएर बिहीबार बिहान साढे १० बजेदेखि अवरुद्ध गरेको जानकारी दिए। 'उहाँहरूको मागका विषयमा वार्ता पनि चलिरहेको छ, माग पूरा नहुँदासम्म सडक अवरुद्ध गर्छौं भनेर उहाँहरू अहिले पनि आन्दोलनमै हुनुहुन्छ,' उनले भने।

प्रकाशित: ३ माघ २०८१ १३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App